झापा, साउन ३ । गत फागुनदेखि रोकिएको नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु भएको छ ।

साउन ८ र ९ गते नेपालबाट १०० जना नेपाली कामदार इजरायल जान लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक कामदारहरु मध्ये १०० जना कामदारको भिसासहित राहदानी काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त भएको विभागले जनाएको छ । विभागले भिसा आएकाहरुलाई आफ्नो राहदानी बुझ्न, उडान अनुसार बनाइने ग्रुपमा आफ्नो नाम समावेश गराउन र कोभिड १ विरुद्धको खोप लगाएको विवरण पेश गर्न साउन ४ गतेको समय दिएको छ । ८ र ९ गते हुने उडानका लागि सीलिंक होलिडेबाट हवाई टिकट बुकिङ गर्न सकिने जनाइएको । त्यसका लागि ५९ हजार ९९० रुपैयाँ हवाई भाडा तोकिएको छ । इजरायल उड्ने नेपाली कामदारले उडान गर्नुपूर्व ७२ घण्टाभित्र कोभिडको पीसीआर परीक्षण गराउनुपर्नेछ । उक्त परीक्षणमा नेगेटिभ आएको अवस्थामा मात्र इजरायलका लागि उडान गर्न पाउनेछन् । विभागको इजरायल र जापान शाखाका निर्देशक श्रीचन्द्र साहले श्रम स्वीकृतिका लागि अनलाइन आवेदन गर्नका लागि जीवन बीमा गरेको हुनुपर्ने बताए । त्यसका साथै कल्याणकारी कोषको रकम तिरेको हुनुपर्ने उनको भनाइ छ । विभागले १०० जना कामदारको विवरण समेत सार्वजनिक गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच एक हजारजना नेपाली सहायक कामदार लैजाने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार विभागले आवेदन आह्वान गरेर एक हजार एक सय ७५ जनाको अन्तिम लिष्ट निकालेको थियो । जसमध्ये २९७ जना गत पुस र माघमा नै इजरायल पुगिसकेका छन् । बाँकी रहेका कामदार अहिलेसम्म जान पाएका थिएनन् । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीको आन्दोलनको कारण लामो समयदेखि नेपाली कामदार लैजाने प्रक्रिया रोकिएको नेपालस्थित इजरायली दूतावासले जनाएको थियो । त्यसका लागि नेपालले पटक पटक ताकेका गरेको थियो । त्यसबीचमा नेपाली अधिकारीले इजरायल अधिकारीसँग प्रत्यक्ष भेटवार्ता गरेर समेत रोकिएको प्रक्रिया तत्काल खोल्न आग्रह गरेका थिए । जवाफमा कर्मचारीको आन्दोलनका कारण प्रक्रिया अवरुद्ध भएको र चाँडै नै सुरु गरिने आश्वासन दिएका थिए । लामो समय रोकिएको प्रक्रिया सुरु भएसँगै विभागले द्रुत गतिमा काम अगाडि बढाएको निर्देशक साहले बताए । छनोटमा परेका कामदारको स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, श्रम स्वीकृति लगायतका कार्यहरु तिब्रतका साथ अगाडि बढेको उनको भनाइ छ । बाँकी रहेका कामदार लैजाने प्रक्रिया २४ असारबाट सुरु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्