आदरणीय दुर्गा दाई
नमस्कार,
प्रविधिले फड्को मारेपनि मैले परम्परागत रूपमा पत्र लेख्नु नै सहज मानँे, यसका लागि क्षमा माग्दै व्यस्तताबीच अलिकति फुर्सद निकालेर यो पत्र पढिदिनुहुनेछ भन्ने बिश्वास लिएको छु ।
दाइको क्रियाशीलता, कर्म, क्रियाकलाप, कार्यशैली, भाषण, समाजसेवा र राजनीतिक उपस्थिति आदि विविध गतिविधिले गर्दा तपाईं चर्चामा आइरहनुहुन्छ, मिडियामा छाइरहनुहुन्छ । म तपाईंको छिमेकी भए पनि संचारमाध्यमबाटै चिनेको हँु । हाम्रो दोहोरो चिनजान नभएको कारण पनि यो पत्र लेख्ने कोसिस गरेको छु ।
हुन त, मिडियाले तपाईका बारे नकारात्मक कुराहरु नै बढी प्रचार गरे, भाइरल बनाए । आम मानिसहरुले तपाईंलाई पहिलो पटक बुझ्दा नकारात्मक तरिकाले नै बुझे । मलाई पनि पहिले त्यस्तै भ्रम थियो । तर, बाहिर देखाइएका सबै कुरा सत्य हुँदैनन् । अथवा यसो भनौं, हिजो गलत भनिएको कुरा आज सही पनि हुन्छ, भएको पनि छ । आम मानिस भ्रममा बाँचेका छन् । वास्तविकता बुझ्न समय लाग्ने रहेछ ।

हिजो प्रचण्ड र केपीलाई मार्सी चामलको भात खुवाएको घटनाले तत्कालीन अवस्थामा जेजे नकारात्मक प्रभाव परेको थियो, अहिले सबै सकारात्मक प्रमाणित भएका छन् । मार्सीले बजार पाएको छ । यसको त ब्रान्ड नै बनेको सुनेको छु । देशका मुर्धन्य नेताहरुलाई एउटै टेबलमा बस्ने वातावरण बनाउन सक्नु त्यो तपाईंको क्षमता थियो । तर, बुझ्नेहरुले सकारात्मक तरिकाले बुझ्न् चाहेनन् । तपाईंलाई गाली गरिरहे । तपाईंले त्यो फोटो सार्वजनिक गर्ने सवारी चालकलाई कार्वाही पनि गर्नुभएको थियो । समयक्रमले मार्सी काण्डले सकारात्मक रुप लियो । तपाईंको व्यक्तिगत, सामाजिक, व्यावसायिक जीवन सफलताको शिखरमा चढ्दै गयो । तत्कालीन एमाले र माओवादी पार्टीबीच एकता भयो, अहिले टुटेको छ, त्यो अर्को प्रसङ्ग हो तर तपाईंको पहल र क्रियाकलाप गलत थिएनछ ।

यसबीचमा तपाईंले बिएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन धेरै कोसिस गर्नुभयो । त्यो प्रयास अहिलेसम्म पनि जारी नै छ । एउटा मेडिकल व्यवसायीले आफ्नो संस्थालाई राज्यको नीतिनियमभित्र रहेर संचालक गर्न खोज्नु स्वाभाविक कुरा हो तर, सरकार, स्वास्थ्य मन्त्रालय, केही नेताहरु, मिडिया, राज्यको सम्पुर्ण शक्ति तपाईका विरुद्ध लागिरहे, अझैसम्म तपाईंको अभियानलाई निस्तेज पार्न सक्रिय नै देखिएका छन् ।

स्वास्थ्य र शिक्षा भनेका जनताको मौलिक अधिकार हुन्, र यो सर्वसुलभ हुने कुरा हाम्रो संविधानमै उल्लेख गरिएको छ तर, संविधानमा लेखेर मात्रै हुन्न । अहिलेसम्मका कुनै पनि सरकारले संविधानको भावना अनुसार काम गरेका छैनन् । आवश्यक दक्ष चिकित्सक र प्रविधि सरकारले व्यवस्थापन गर्न नसकेको परिप्रेक्ष्यमा दुर्गा प्रसाईंको उदय भएको हो । तपाईंले मेडिकल क्षेत्रमा आवश्यक जनशक्ति सस्तो दरमा नेपालमै उत्पादन गर्न खोजेको न हो । बिरामीलाई सस्तो दरमा गुणस्तरीय उपचार गराउन त खोजेको हो । तर, भन्नेहरुले उपचार महँगो भनी आकाशवाणी गरिदिए । बिएण्डसीले लिएको पैसाको कुरा गरे तर पाएको सुबिधा र अत्याधुनिक उपकरणको चर्चा गरेनन् । त्यसैले तपाईं र बिएण्डसीलाई एउटा ठुलो जमातले निरन्तर खेदिरहे । तर, तपाईंले हिडेको बाटो, लिएको लक्ष्य र गन्तव्य अहिलेसम्म सही सावित भएको छ र त, तपाईं आफ्नो उडान युएईसम्म भरिरहनु भएको छ ।

तपाईंको सफलतामा जल्नेहरु अझै जलिरहेका छन् तर, तपाईं सूर्यजस्तै निरन्तर बलिरहनुभएको छ । यो तपाईंको साहस, आत्मविश्वास, मिहिनेत, निरन्तरता, क्षमता अनि राजयोगको प्रभावले सम्भव भएको हुनुपर्छ ।
तपाईं प्रष्टवक्ता हुनुहुन्छ । मनमा पाप र दुराशय नहुनेहरु प्रष्टवक्ता नै हुन्छन् । झट्ट सुन्दा असहज लागे पनि प्रष्टवक्ताले व्यक्त गरेका धारणाहरु कालान्तरमा सत्य सावित हुन्छन् । यो तपाईंको मौलिक गुण हो । यस बोलीका लाखौं फ्यानहरु छन्, त्यसमध्ये म पनि एक हँु ।
तपाईंले दैनिक रूपमा केही न केही सेवामूलक कामहरु गरिरहेको मैले बुझेको छु तर ती सकारात्मक कामहरुको चर्चा मिडियामा साह्रै कम आइपुग्छन् ।
हजारौंलाई रोजगारी दिनुभएको छ । उनीहरूको परिवारको शिक्षा, स्वास्थ्य लगायत हरेक पक्षमा तपाईं एउटा अभिभावक बन्नुभएको छ तर यो कुरा सम्बन्धित परिवारबाहेक अन्यलाई चासो छैन ।
तपाईंको कारण कति जनाले आफ्नो व्यवसाय चलाएका छन् । अप्रत्यक्ष रूपमा तपाईंले धेरैलाई जीवनको सही बाटोमा हिड्न प्रोत्साहन गरिरहनुभएको छ । यो बारेमा समाज अनि संचार जगत विशेषगरि काठमाडौं केन्द्रित मिडियाहरु लगभग मौन देखिन्छन् ।

पछिल्लोपटक तपाईंले युएईका राजकुमार (राजपरिवारका एक सदस्य)लाई झापा भ्रमण गराएर जुन चर्चा बटुल्नुभयो, ,सुनको लौरो, जसरी भाइरल भयो÷गराइयो ! त्यस परिघटनाले पनि तपाईंको क्षमता र पहुँचको प्रष्ट ब्याख्या गरेको छ । भलै त्यो लौरो सुनैसुनको नहोला तर युएईका तत्कालीन रुलरले आफ्ना छोरालाई दिएको अनमोल उपहार तपाईंले पाउनु भनेको त समग्र देशले गर्व गर्नुपर्ने कुरा हो तर भन्नेहरुले नकारात्मक तरिकाले सुनको लौरोको अपव्याख्या गरिरहे सायद त्यो जलन पनि हुनुसक्छ ।
यो प्रसङ्ग सेलाउन नपाउँदै तपाई केही हप्ता अगाडि नयाँ व्यवसायको विस्तारका लागि युएई आउनु भएको समाचार सुनिएको थियो । युएईमा मेडिकल कलेज स्थापनाको उदेस्य आफैमा ठुलो समाचार हो तर, त्यो समाचारले जति प्राथमिकता पाउनुपर्ने हो, पाएको देखिएन÷सुनिएन । दुर्गा प्रसाईप्रति नेपालका बिग मिडिया हाउस किन पूर्वाग्रही भएका हुन् ? यसभित्र केही अर्थ लुकेको हुनुपर्छ ।

युएईमा अलपत्र÷बेवारिसे नेपाली लासहरु सम्बन्धित परिवारसमक्ष पु¥याउन तपाईंले पहल गर्ने समाचारले युएईको नेपाली समुदायमा एउटा आशाको संचार गराएको थियो ।
मैले पनि एक बेवारिसे लासको फलोअप गरिरहेको थिए । मैले निर्धारित नम्बरमा कल गर्दा सकारात्मक आश्वासन मात्रै पाए तर, तपाईसंग प्रत्यक्ष कुराकानी हुन सकेन । तपाईं व्यस्त मानिस छिटै नेपाल फर्किनु भो । नेपालमा पनि मैले समस्या समाधान होला कि भनी मेरा आफन्तलाई तपाईंलाई भेट्न पठाएको थिएँ । त्यहाँ पनि तपाईंलाई भेट्न निकै मिहिनेत गर्नुपर्ने रहेछ । त्यही भएर पनि यो पत्र लेख्न बाध्य भए ।

तपाईं अब एक व्यक्ति मात्रै होइन । मृत्युलाई जितेर आएको तपाईले यो नाफाको जीवनमा दीर्घकालीन योजनाको साथमा काम गर्नुपर्ने हुन्छ । आफू मरेर गए पनि आफ्ना सत्कर्महरुले आम मानिसले दुर्गा प्रसाईलाई सम्झिरहून् । बिएण्डसी भनेर जसरी आफ्नो बुबा र आमाको नामको पहिलो अक्षरबाट हस्पिटलको नामकरण भएको छ, भोलि दुर्गा प्रसाईंको नाममा पनि केही प्रतिष्ठानहरु स्थापना हुने गरी अहिलेदेखि नै वातावरण बनाउनुहोला । हुन त, अहिलेसम्मको तपाईंको सामाजिक, व्यावसायिक र राजनीति यात्रा निरन्तर सगरमाथाझै अग्लिरहेको छ । यसलाई अझै माथिल्लो स्तरमा लैजान तपाईंलाई अझ धेरै आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुको साथ आवश्यक पर्नेछ । तपाईंको योजना अनुसार काम भए आगामी संघीय चुनावमा झापा–३ मा एमालेले पक्कै उम्मेदवार बनाउँला । त्यसको लागि पनि तपाईंले आवश्यक तयारी गरिनै रहनुभएको होला ।
हुन त, तपाईंलाई म जस्तो भुइँमान्छेको सुझाव आवश्यक नपर्ला ।तर, पनि पत्र लेख्ने सिलसिलाको अन्त्यमा यस्तै सुझाव दिने दुस्साहस गरेँ । गल्ती भए माफ पाउँ ।

तपाईं झापाबाट युएई फड्को मार्दै हुनुहुन्छ, म युएईबाट झापा फर्किदै छु । कुनै दिन भेट भयो भने धेरै गफ गरौंला भन्ने मनसाय छ । आजलाई बिदा चाहन्छु ।

तपाईंको शुभचिन्तक भाइ
रामपसाद ढुंगेल
अबुधाबी, युएई

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्