बिर्तामोड , साउन १६ । नेपाल व्यापारी कर्मचारी संघ (युनिकम) को आयोजनामा इलामको सूर्योदय नगरपालिकाको कन्याममा तीन दिने क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।

संघमा आबद्ध सदस्यको नेतृत्व विकासका लागि आइतबारबाट तालिम सुरु भएको हो । तालिमको उद्घाटन सार्क चेम्बर एण्ड कमर्सका उपाध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले गरेका थिए । उनले यस प्रकारको तालिमले मानिसको व्यक्तिगत र सामाजिक विकासमा सहयोग पुग्ने भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाप्रसाद बरालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालले सर्वप्रथम मानिसले आफूले आफैँलाई नेतृत्व गर्नुपर्नेमा जोड दिँदै स्थापित हुनका लागि व्यक्तित्व र नेतृत्व विकास जरुरी रहेको धारणा राखेका थिए ।
संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले व्यापार क्षेत्रमा काम गर्ने कामदारलाई घरेलु कामदारको रुपमा हेरिने गरेकोमा पछिल्लो सयम त्यसमा परिवर्तन आएको बताए । उनले युनिकमले व्यापारिक क्षेत्रमा गरिने कामलाई स्मार्ट जब बनाउने अभियान चलाइरहेको बताए ।

निजी क्षेत्रमा ठुलो हिस्साले काम गरिरहेको बताउँदै उनले कामदारले पनि आफ्नो क्षमतालाई भरपूर सदुपयोग गर्न सक्नुपर्ने बताए । तालिममा सहभागीलाई युएनआईकम एप्रो प्यासिफिकका प्रोग्राम को–अर्डिनेटर तिलकजंग खड्का (कल्याण)ले प्रशिक्षण दिँदैछन् । नेतृत्व विकासका बारेमा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले समेत प्रशिक्षण दिने बताइएको छ ।

युनिकम झापा अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युनिकमका केन्द्रिय महासचिव लेखनाथ दाहालले गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा युनिकमका केन्द्रिय कोषाध्यक्ष दुर्गा भट्ट, उपाध्यक्ष रबिन भुषाल , केन्द्रीय सदस्यहरुसहित बाग्मती र प्रदेश १ का युनिकम सम्बद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ ।कार्यक्रमको सञ्चालन केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्