झापा, भदौ ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफूहरु राप्रपासंग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

राप्रपा छोडेर राप्रपा नेपाललाई ब्युँताएका थापाले हिजो साँझ बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विगतमा संगै बसेर काम गरेकाले आबश्यकता भयो भने राप्रपासंग चुनावी तालमेल हुनसक्ने बताए ।‘ राप्रपा जिम्मेवार दल हो कतिपय विचारमा समानता र मतभेद छ’ उनले भने,‘ हिजो संगै बसेर काम गरेकाले आबश्यकता भयो भने चुनावी तालमेल हुन्छ ।’ राप्रपा मिल्दै टुक्रिदै गरेको इतिहास छ । उनले एकीकरणको संभावना रहेपनि त्यो मंसिर ४ को निर्वाचनअघि संभव नभएको बताए ।

अध्यक्ष थापाले राप्रपा र राप्रपा नेपालबीच प्रतिष्पर्धा आबश्यक नभएको बताउँदै आफूहरुको प्रतिष्पर्धा ठूला दलहरुसंग भएको धारणा राखे । ‘राप्रपामै बसेर बाँकी राजनीतिक जीवन बिताउने इच्छा थियो , त्यो परिस्थिति हुन दिइएन’ उनले भने,‘ राप्रपाका राजेन्द्र लिङ्देनप्रति हिजो जुन सद्भाव र स्नेह थियो त्यो आज पनि छ ।’ उनले राप्रपाको स्थापनाको इतिहास स्मरण गर्दै राजाले राप्रपा पार्टी नखोलेको स्पष्ट पारे ।

नेकपा एमालेसंग चुनावी तालमेल गर्ने इच्छा राप्रपाले देखाइरहँदा राप्रपा नेपालले पनि एमालेसंग नै चुनावी तालमेल गर्ने भएको छ । केही सीमित क्षेत्रमा एमालेसंग तालमेल गर्ने प्रयास भइरहेको बताउँदै थापाले तालमेलबाहेक अरु सबै क्षेत्रमा सिंगल उम्मेदवारी दिने जानकारी दिए । स्थानीय तहको निर्वाचनमा पनि राप्रपा नेपालले एमालेसंग सांकेतिक रुपमा तालमेल गरेको थियो । आगामी निर्वाचनमा न्यूनतम रुपमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने उद्धेश्य रहेको थापाको भनाई थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्