बिर्तामोड, भदौ ११ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पहिचानबिनाको नामकरणलाई स्वीकार्न नसकिने बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि पहिचानसहितको नामकरण पारित गराउन नसकेको स्वीकार गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाको सातौं जिल्ला अधिवेशनलाई शनिवार बिर्तामोडमा उद्घाटन गर्दै मुख्यमन्त्री राईले आफू किरात लिम्बुवान प्रदेशको पक्षमा रहेको स्पष्ट पारे ।
‘प्रदेश सरकारले निर्णय गर्न पाउने भए उहिले नै पहिचानसहितको नामकरण गरिसक्थेँ ’उनले भने,‘नामकरणको विषय संसदले पास गर्नुपर्छ ।’संसदमा नामकरणको विषय प्रवेश गराउँदा शतप्रतिशत भूगोलको पक्षमा मत खस्ने उनको दावी छ । त्यहीँ भएर आफूले नामकरणको विषय संसदमा प्रवेश नगराएको उनले बताए । अर्कोतर्फ सरकारको सहमतिबिना नामकरणको प्रस्ताव संसदमा लैजाए संसद बन्द गराउने आफूहरुको अधिकार रहेकोले भूगोलको नामकरण पनि सजिलै हुन नसक्ने उनले बताए । प्रदेशको नामकरणको परीक्षामा आफू सफल हुन नसकेको भन्दै पहिचानसहितको नामकरणको पक्षमा सतिसाल भएर उभिँदा अराजक , मुर्ख , जातिवादीजस्ता आरोप आफूलाई लागेको उनले सुनाए । ‘मेरै पार्टीका नेताहरुले मन पराएनन् ’उनले भने,‘मैले मेरो राजनीतिक हैसियत दाउमा राखेँ ।’ पहिचानको पक्षमा उभिँदा आफूले घृणाको शिकार हुनुपरेको भोगाइ पनि उनले सुनाए ।
राज्यको विभेदकारी गलत नीतिकै कारण महिला– पुरुष , धनी– गरीब र जाति–जातिबीच दुरी बढेको बताउँदै उनले जबसम्म बराबरी हुँदैन तबसम्म आरक्षण , पहिचान र बिशेष अधिकार आबश्यक रहेको धारणा राखे । राज्यको विभेदकारी नीतिकै कारण कयौ जाति र कयौ मानिस मासिने अबस्थामा पुगिसकेको बताउँदै बाँदर , रेडपान्डाजस्ता जनावरलाई मात्र नभएर लोपोन्मूख जातिलाई पनि राज्यले जोगाउनुपर्नेमा जोड दिए । उनले मातृभाषाको पठनपाठनमा हिच्किचाउने राज्यले मृत भइसकेको संस्कृत भाषाको लागि करौडोको बजेट खेर फालिरहेको आरोप लगाए । ‘कामचलाउ नहुँदा मृत भइसकेको संस्कृत भाषा पढाउनका लागि सिंगो युनिभर्सिटी नै छ , विद्यार्थीभन्दा बढी शिक्षक नै छन् ’ उनले भने,‘सरकारले दिने विदामा पनि विभेद छ ।’
आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासंघका संघीय परिषद उपाध्यक्ष लरुमाया जिमी ,नेपाली कांग्रेस झापाका सभापति देउमान थेबे , अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देन , कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई ,महासंघका पूर्व संघीय सचिव नित्यानन्द ताजपुरिया,जनता समाजवादी पार्टीका अध्यक्ष दिपेनवाला राई ,किरात राई यायोख्खाका जिल्ला सचिव केवलराम राई , राष्ट्रिय महिला महासंघ झापाकी अध्यक्ष माया गुरुङ, आदिवासी सन्थाल संघका पूर्व अध्यक्ष बडाराम हेमरम ,नेपाल मगर संघका जिल्ला अध्यक्ष जगत राना मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महासंघका जिल्ला उपाध्यक्ष पाण्डवलाल चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव वीरेन मेचेले गरेका थिए । झापाका २१ वटा जातीय संस्था महासंघमा आवद्ध रहेका छन् । कार्यक्रमअघि आदिवासी जनजातिहरुको झाँकीसहितको र्यालीले बिर्तामोड बजार परिक्रमा गरेको थियो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । समितिको अध्यक्षमा थारु कल्याणकारिणी सभाबाट पाण्डवलाल चौधरी आउने जनाइएको छ ।