झापा , भदौ २८ । श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंकामाथि ६-० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ । कोलम्बोमा नेपाली टिमलाई जित दिलाउन हरिस भट्ट, प्रशान्त लक्षमण, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान एक गोल गरे । खेलको २१औं मिनेटमा कप्तान प्रशान्तको गोलबाट नेपालले अग्रता बनाएका थियो । त्यसको अर्को मिनेटमा नै हरिसले नेपालको अग्रता दोब्बर पारे । यस्तै, ३० औं मिनेटमा सुवास बमले नेपालको अग्रतालाई ३-० मा पुर्याए । ३७ औं मिनेटमा निरोज कार्कीले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाए । पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा दुई गोल थप्यो । नेपालका युनेशले ५१ औं मिनटमा गोल गर्दै टिमको अग्रतालाई ५-० मा पुर्याए । यस्तै, खेलको अन्तिम मिनेटमा सिजल राईले गोल गरेपछि नेपालले ६-० को जित निश्चित गर्यो । नेपालले बुधबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्