झापा, असोज ३ । झापामा स्रोत नखुलेको साढे तीन लाख रकम र ब्राउनसुगरसहित एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– १३ स्थित तेलीवारी निवासी ४३ वर्षीया भारती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार साँझ ६ बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा ती महिलालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ब्राउनसुगर बरामद भएको थियो । प्रहरीले पक्राउ गरी ती महिलालाई उनको घरमा लगेर खानतलासी गरेको थियो । त्यसक्रममा प्रहरीले उनको घरबाट ८ ग्राम ब्राउनसुगर, एक थान डिजिटल तराजु र नगद ३ लाख ५३ हजार ५ सय रुपैयाँ बरामद गरेको हो ।

ब्राउनसुगर र नगदसहित पक्राउ परेकी महिलालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको डीएसपी पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्