भद्रपुर, असोज २ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नं प्रदेशस्तरीय छनोट प्रतियोगितामा झापाले पुरुषतर्फको खो–खो खेलको उपाधि जितेको छ ।

भद्रपुर माविमा आइतबार सम्पन्न फाइनल खेलमा मोरङलाई पराजित गर्दै झापाले उपाधि जितेको हो । झापाले कडा प्रतिस्पर्धाका बीच मोरङलाई पराजित गरेको प्रशिक्षक जयप्रकाश राजवंशीले जानकारी दिए ।

महिलातर्फको उपाधि भने मोरङले नै जितेको छ । मोरङले संखुवासभालाई पराजित गर्दै उपाधि जितेको हो । झापा सेमिफाइनलमा पराजित भएको झापा जिल्ला खो–खो संघका अध्यक्ष रतिया राजवंशीले बताए ।
खो–खोको प्रतिस्पर्धा सकिएसँगै संक्षिप्त समापन समारोह आयोजना गरी पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई मेडल तथा प्रमाणपत्र वितरण गरियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि कबड्डीका अन्तर्राष्ट्रिय खेलाडी तथा भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठले खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

जिल्ला खेलकुद विकास समितिका सचिवालय सदस्य दुर्गाराज निरौलाले सञ्चालन गरेको समारोहमा समितिकी उपाध्यक्ष एवम् खो–खो तथा कबड्डी खेलाडी छनोट समितिकी संयोजक गंगाा कोइराला भुर्तेलले स्वागत गरेकी थिइन् ।
यसैगरी, आइतबार नै दमकमा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए । इटहरीमा भएको पुरुष भलिबलको उपाधि झापाले जितिसकेको छ ।

झापाको काँकरभिट्टामा व्याडमिन्टनका खेलहरु आइतबार नै शुरु भएको छ भने सोमबार मेची रंगशालामा कबड्डी र आर्चरीको खेल शुरु हुने जिल्ला खेलकुद विकास मितिका कार्यालय प्रमुख विष्णु नेम्बाङले जानकारी दिए ।

यसैबीच इटहरीमा आइतबार सम्पन्न महिला फुटबलको उपाधि झापाले जितेको छ । यसैगरी जिल्लाबाहिर जारी आइटीएफ तेक्वान्दोमा हालसम्म झापाले ६ स्वर्ण जितेको छ भने करातेमा दुई स्वर्ण, एक रजत र एक कास्य पदक जितेको छ । त्यस्तै बुद्धिचालमा झापाले दुई स्वर्ण र एक रजत पदक हात पारिसकेको प्रशिक्षक कृष्ण सिग्देलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्