झापा, असोज १८ । बडादशैंको महानवमीका दिन नेकपा एमालेले बिर्तामोडमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको एकसाथ उपस्थितिले चुनावी तालमेल टुंगिएको संकेत दिएको छ ।

दुवै पार्टीबीच चुनावी तालमेलको छलफल चलिरहेका बेला दुवै नेता संयुक्त रुपमा शुभकामना कार्यक्रममा सरिक हुनुले भागवन्डा मिलिसकेर अब घोषणा गर्न मात्र बाँकी रहेको सन्देश दिएको हो । झापा क्षेत्र नं ३ मा एमालेले राप्रपालाई सघाउने टुंगिसकेको छ । जुन क्षेत्रबाट राप्रपा अध्यक्ष लिङ्देन उम्मेदवारको रुपमा उठ्दैछन् । उनले अघिल्लो आम निर्वाचनमा सोही क्षेत्रबाट एमाले र माओवादीसंग चुनावी तालमेल गरेर निर्वाचन जितेका थिए । चुनावी तालमेलको कुरा मिलिसकेर अब असोज २० गते घोषणा हुन लागेको राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिए । कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

बडादशैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा मंगलबार गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताएका छन् । ‘हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो’, उनले भने, ‘प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन ।’ उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

एमालेको शुभकामना आदानप्रदान कार्यक्रममा राप्रपा लिङ्देन, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईं, नेकपा माओवादीका युवा नेता रञ्जीत तामाङ, जनता समाजवादी पार्टी झापा अध्यक्ष दीपेनबाला राईलगायत विभिन्न राजनीतिक पार्टीका नेता, एमालेका नेता, उद्योगी, व्यवसायी र पेशाकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्