झापा, असोज ३० । विदेशबाट फर्केर नेपालमै काम गर्न खोज्ने र व्यवसाय गर्न खोज्नेहरुलाई लक्षित गरी झापामा सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालन भएको छ ।

कथा नेपाल नामक संस्थाले जिल्लाका चारवटा पालिकाहरुमा ‘वेलकम होम’नामक सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

शिवसताक्षी र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिकामा गत मे महिनाबाट सो कार्यक्रम संचालन गरिएको कथा नेपालद्वारा आज भद्रपुरमा आयोजित मिडिया अन्तरक्रिया कार्यक्रममा जानकारी दिइयो । सरकारले भर्खरै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनःएकीकरण (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ सार्वजनिक गरेको छ । यस कार्यक्रमअन्तर्गत मुख्य तीन वटा काम गर्ने सरकारको योजना छ । रोजगारीमा आवद्धता कार्यक्रमअन्तर्गत सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप परीक्षण तथा प्रमाणीकरण गराई उनीहरुलाई रोजगारीमा लगाउन खोजेको छ । सीप परिक्षण तथा प्रमाणीकरणपश्चात् बजारको माग र व्यक्तिको क्षमता अनुरूप रोजगारीको व्यवस्था गर्न सहज हुने सरकारको बुझाई छ ।

त्यस्तै उद्यमशीलता प्रवर्द्धनअन्तर्गत सरकारले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको पूँजी, ज्ञान, सीप, प्रविधि र अनुभवको सदुपयोग गर्दै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई उद्यमी बनाउन खोजेको छ । यसको लागि सरकारले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको वित्तीय साक्षरता र पहुँच बढाउन खोजेको छ।

त्यस्तै सामाजिकीकरण कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीको सिलसिलामा लामो समय विदेशमा बसेर फर्कदा परिवार तथा समाजमा अन्तर्घुलन हुन समस्या परिरहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । यही समस्यालाई हल गर्न सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र परिवारबीच मेलमिलाप गराई समाजमा पुनःस्थापित गराउन खोजेको छ। यसका लागि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई मनोसामाजिक परामर्श दिइदैँछ ।त्यसैगरी नेतृत्व विकास, सामाजिक सञ्जाल निर्माण तथा स्वयम्सेवक परिचालन कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । यी तीनवटै कार्यक्रमलाई अघि बढाउन सरकारले आप्रवासी विवरण तयार पार्दैछ । यो विवरणमा वैदेशिक रोजगारीबाट फर्किएकाहरुको व्यक्तिगत विवरण रहनेछ । वैदेशिक रोजगारीको सिलसिलामा काम गरेको मुलुक र कामको प्रकृति, आर्जन गरेको ज्ञान, सीप, अनुभव पनि विवरणमा रहनेछ ।

यतिमात्र होइन, यो प्रोफाइलमा देशभित्र रोजगारी गर्ने वा स्वरोजगार बन्ने भन्ने सम्बन्धमा रोजगारीबाट फर्किएका व्यक्तिको इच्छा, आवश्यकता, प्राथमिकता, योजनालगायतका विवरण पनि प्रोफाइलमा समावेश हुनेछ । यो कार्यक्रम लागु गर्ने मुख्य जिम्मा स्थानीय निकायको हो। अब हरेक स्थानीय निकायले आप्रवासी प्रोफाइल तयार पार्नेछन्। स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रले यससम्बन्धी सूचना तथा परामर्श उपलब्ध गराउने छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)का नेशनल प्रोजेक्ट को–अर्डिनेटर ताराप्रसाद बहडियाले चारवटा नतिजा आउनेगरी सिंगो झापा जिल्लालाई कार्यक्षेत्र बनाएर हाल चारवटा पालिकाहरुमा वेलकम होम कार्यक्रम संचालन भइरहेको बताए । स्थानीय तहलाई जिम्मेवार बनाउँदै वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई समाजमा पुनर्स्थापित गराउनका लागि पव्लिक प्राइभेट डाइलग , तथ्यांक संकलन, पुनःएकीकरणको नीति निर्माण , कमिटी गठन ,करिअर काउन्सिलिङ, क्षमता विकासजस्ता कार्यक्रम संचालन भइरहेको उनले जानकारी दिए । करिव १ हजार ५ सय जनाको व्यक्तिगत विवरण संकलन गर्ने लक्ष्य राखिएको बताउँदै उनले ८६० जनालाई तालिम दिने योजना अनुसार हालसम्म सयजनालाई तालिम प्रदान गरिएको जानकारी दिए । यस कार्यक्रममा विभिन्न रोजगारदाता संस्थाहरु पनि संलग्न रहेको बहडियाको भनाई छ ।

सोही परियोजनामा सहकार्य गर्दै आएको पौरखी नेपालकी मन्जु गुरुङले ‘म को हुँ ? विदेशबाट के लिएर आएँ ? समाजमा के गर्न सक्छु ? जस्ता विषयमा उनीहरुलाई करिअर काउन्सिलिङ गर्ने गरिएको बताइन् । चारवटा पालिकामा विदेशबाट फर्केकाहरुको विवरण संकलन गर्ने कार्य भइरहेको उनले बताइन् । पालिकाहरुमा रहेका रोजगार संयोजकहरुलाई केही दिनअघि तालिम दिइएको उनले जानकारी दिइन् ।

कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा आफ्नो नगरपालिकाले गरिरहेको प्रयासका बारेमा जानकारी दिए । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नेपालमा गरिबी र बेरोजगार समस्याका कारण अर्थतन्त्र धान्नका लागि बैदेशिक राजगारीमा जानुपर्ने बाध्यता रहेको बताउँदै यसलाई अपरिहार्यताको रुपमा लिनु दुर्भाग्य भएको धारणा राखे । कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर उपप्रमुख राधा कार्की , कथा नेपालकी शिवानी भट्टराईले पनि बोलेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठक , सशस्त्र प्रहरी बल २ न. गणका डिएसपी चिरन्जीवि प्रसाईको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्