झापा, असोज ३१ । झापा क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी दिने डम्बरबहादुर गिरीसंगै उनका प्रस्तावकलाई समेत नेकपा एमालेले कार्वाही गरेको छ ।

गिरीका प्रस्तावक बनेका हल्दिवारी गाउँ कमिटी सदस्य मनोज सुवेदीलाई समेत एमालेले पार्टीको सबै जिम्मेवारी र साधारण सदस्य पनि नरहनेगरी अनुशासनको कार्वाही गरेको हो । हल्दिवारी गाउँ कमिटीका अध्यक्ष त्रिलोचन सापकोटा र सागर पोर्तेलले आज एक प्रेस विज्ञप्ति जारी गरी सुवेदीलाई कार्वाही गरिएको जनाएका छन् । स्वतन्त्र वा अन्य कुनै पार्टीको उम्मेदवारीको पक्षमा पार्टीको निर्णयविपरित जिम्मेवार नेता तथा सदस्यहरुले मत प्रभावित गर्ने उद्धेश्यले लागेको पाइएमा विधान बमोजिम अनुशासनको कार्वाही हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

एमाले नेता भीम रावलले विपरित सिद्धान्त भएका प्रतिक्रियावादी राप्रपाका राजेन्द्र लिङ्देनलाई एमालेको मत हाल्न नसकिने जनाउँदै स्वतन्त्र उम्मेदवार गिरीलाई मतदान गर्न आह्वान गरिरहेका छन् । रावलसंगै अन्य जिल्लास्तरका नेताहरु पनि गिरीको पक्षमा खुलेर लागेका छन् । रावलले आज फेरि अर्को टेलिभिजनलाई अन्तर्वार्ता दिँदै झापा क्षेत्र नं ३ मा एमालेका ९० प्रतिशत कार्यकर्ता गिरीको पक्षमा रहेको बताएका छन् । उनले गिरीले निर्वाचन जित्ने दावीसमेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्