झापा, कात्तिक ४ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि आयोगले शुक्रवार महामन्त्री शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । महामन्त्री शर्माविरुद्ध आगलागी पीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको दुई लाख ५० हजार रुपैयाँ निरौला र उनको बुबालाई हस्तान्तरण गर्दै गरेको फोटो विजय डालमियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोस्ट गरेका थिए । श्रव्य÷दृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा गरेको होइन भन्न सकिने कुनै आधार कारण नदेखिएको भन्दै स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ । आयोगले रकम हस्तान्तरण भएकोबारे के, कस्तो भएको हो ? र नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनी प्रश्नसमेत सोधेको छ ।
आयोगले महामन्त्री शर्मालाई उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यलयमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । उपन्यायाधिवक्ता वाग्लेले निर्वाचन आचारसंहिता लागू भइसकेपछि उम्मेदवारले आचारसंहिता पालना गर्नुपर्ने उल्लेख गर्दै आगलागी पीडितलाई पैसा वितरण गर्नु आचारसंहिता विपरीत भएको बताए ।

उनले निर्वाचनको सन्दर्भमा मतदातालाई कुनैपनि गतिविधि गरेर कुनै प्रकारले प्रभावित पार्नु हुँदैन र लोभलालच देखाउनु हुँदैन भन्ने आचारसंहिताको सन्दर्भलाई लिएर आयोगको निर्णयअनुसार उनलाई स्पष्टीकरण सोधिएको स्पष्ट पारे । उपन्यायाधिवक्ता वाग्लेले महामन्त्री शर्माले आयोगलाई पठाएको जवाफपछि आयोगले जवाफको गहन विश्लेषण र अध्ययन गरी उचित कदम लिने स्पष्ट पारे । उपन्यायाधिवक्ता वाग्लेले शुक्रवारसम्मको तथ्याङ्कअनसार निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, संघ–संस्था, कार्यालयसमेत गरी ४८ वटा स्पष्टीकरण सोधेको र त्यसमध्ये ३० वटा जवाफ आएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्