झापा , कात्तिक ११ । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले सामाजिक सञ्जाल ट्वीटर किनेसँगै ट्वीटरका सीईओ पराग अग्रवाललाई बर्खास्त गरेका छन्।

ट्वीटर खरिद गर्ने सम्झौताअनुसार ट्वीटरको स्वामित्व आफ्नो नाममा गरेसँगै विद्युतीय गाडी टेस्ला र अन्तरीक्षयान निर्माता स्पेस एक्स कम्पनीका मालिक मस्कले ट्वीटरका सीईओ अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगललाई पनि बर्खास्त गरेको र अमेरिकाको सानफ्रान्सिस्कोस्थित ट्वीटरको मुख्यालयबाट उनीहरू बिदा भएको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सीएनबीसीले लेखेको छ । गत अप्रिलमा ट्वीटर किन्ने सुरुवाती सम्झौता गरेका मस्क पछि उक्त सम्झौताबाट बाहिरिन खोजेका थिए । ट्वीटर किन्ने सम्झौता गरे पनि पछि आनाकानी देखाएपछि ट्विटरले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको थियो । मस्कले ट्वीटर किन्नका लागि अदालतबाट अक्टोबरसम्मको समयसीमा पाएका थिए ।मस्कले वाक् स्वतन्त्रताको पक्षमा आफू रहेको भन्दै ट्वीटरको कन्टेन्ट मोडेरेसन नीतिबारे पुनर्विचार गर्ने बताउँदै आएका छन् ।

बिहीबार एक ट्वीट गर्दै मस्कले ट्वीटरलाई आगामी पिँढीले फरक-फरक आस्था र विश्वासमाथि स्वस्थ रूपमा बहस गर्न मिल्ने डिजिटल डबली भएको बताएका छन् । अहिले सामाजिक सञ्जालहरू दुई भागमा विभाजन भएको भन्दै यसले समाजमा घृणा फैलाउनुका साथै घातक सिद्ध हुनेसमेत उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा देखिएका यस्ता विकृतिविरुद्ध लाग्नका लागि आफूले ट्वीटर खरिद गरेको मस्कले बताएका छन् । पैसा कमाउनका लागि आफूले ट्वीटर खरिद नगरेको भन्दै मस्कले मानवताको सहयोगका लागि ट्वीटर खरिद गरेको बताएका छन् । मस्कले ट्वीटरलाई जसले जे पनि लेख्न मिल्ने सस्तो प्लेटफर्म नबनाउने बताएका छन् । ट्वीटर खरिद गरेसँगै मस्कले आफ्नो ट्वीटर खाताको बायोमा ‘चिफ ट्विट’ अर्थात् ट्वीटर प्रमुख भनेर लेखेका छन् । ट्वीटर किनेसँगै यसअघि ट्वीटरले बन्द गरिदिएको अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता मस्कले पुनः सञ्चालन गराउँछन् /गराउँदैनन् भन्नेबारे चासो बढेको छ । विवादास्पद ट्वीटर गरेको भन्दै ट्वीटरले अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको ट्वीटर खाता बन्द गरिदिएको थियो । उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर (अहिलको विनिमय दरअनुसार ५३ खर्ब ६८ अर्ब) तिरेर ट्वीटर किनेका हुन् । हरेक दिन २० करोडभन्दा बढी मानिसहरूले प्रयोग गर्ने माइक्रोब्लगिङ साइट, ट्वीटर मस्कको हातमा परेपछि उनले अब यसलाई कस्तो आकार दिनेछन् भन्नेमा सबैको चासो छ । आफूलाई वाक्स्वतन्त्रताको कडा पक्षधर बताउने मस्कले ट्वीटरको सम्पूणर् सामथ्र्य उजागर हुन बाँकी रहेको बताउँदै आएका थिए । उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा ट्विटरका विधान खुकुलो पार्ने अनुमान गरिएको छ ।

गत जनवरीदेखि नै मस्कले ट्वीटरको सेयर खरिद गर्न थालेको मार्चको मध्यतिर उनले ट्वीटरको ५ प्रतिशत सेयर किनिसकेको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । त्यसपछि अप्रिलमा उनी ट्वीटरको सबैभन्दा धेरै सेयर हुने व्यक्तिको रुपमा उदाएका थिए । अप्रिल अन्तिममा उनले ट्वीटर नै किनिदिने बताएपछि यो विषयले अझै चर्चा बटुलेको थियो । उनले ट्वीटरमा रहेका नक्कली खाता बन्द गराउनुका साथै वाक् स्वतन्त्रतालाई बढावा दिने बताउँदै आएका छन् । तर ट्वीटर किन्ने सम्झौता गरेका उनले ट्वीटरले दाबी गरेको भन्दा धेरै फेक ट्वीटर अकाउन्ट रहेको भन्दै मध्य-मेमा भने उक्त सम्झौताबाट आफू पछि हट्ने बताएका थिए । त्यसपछि कम्पनीले उनीवरुद्ध अदालतमा मुद्दा दर्ता गराएको थियो । अदालतले ट्वीटर किन्नका लागि दिएको समयसीमा अगावै उनले खरिद गरेका मस्कले अब ट्वीटरलाई कस्तो प्लेटफर्मको रुपमा विकास गर्छन् भन्नेबारे सबैको चासो रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्