एजेन्सी ।भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ ।

मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयौँ मानिस खोलामा डुबेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोलामा डुबेकामध्ये ८० जनाको भने उद्धार गरिएको छ ।

पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ । घाइते भएका ७० जनालाई अस्पताल लगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ । पाँच दिन पहिले मात्रै यो पुलको मर्मतसम्भार गरी आवतजावतका लागि खोलिएको थियो ।

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई चार लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् । यस्तै, प्रधानमन्त्री राहत कोषबाट पनि ज्यान गुमाएकाका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्