झापा , कात्तिक १४ । उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेचौकमा आइतबार राति व्यापारिक भवनमा आगलागी हुँदा डेढ करोड बढिको क्षति भएको छ ।

राति १०ः३० बजे स्थानीय राजु कार्कीको पसल भएको घरमा आगलागी हुँदा तीनवटा पसलको ५ लाख ४६ हजार नगदसहित एक करोड ६५ लाख मुल्य बराबरको धनमाला जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राकेशकुमार पोदारका अनुसार आगलागीबाट स्थानीय पर्शुराम राईको जग्गा भाँडामा लिइ कार्कीले निर्माण गरेको जस्ताले छाएको ट्रसवाला एक तले घर र कपडा पसल, अनिल घिमिरेको एग्रोभेट, विरेन शाहको होटल तथा फलफूल पसल जलेर नष्ट भएको हो । प्रहरीको स्थलगत प्रारम्भिक प्रतिवेदन अनुसार कार्कीको कपडा पसल तथा फर्निचर, सुन ७ तोला र नगद तीन लाख ५० हजारसमेत गरी ८० लाख बराबरको क्षति भएको छ । त्यसैगरी घिमिरेको एग्रोभेट पसलको सबै औषधि लगायतका सामानहरु गरी ६५ लाख बराबरको क्षति भएको डिएसपी पोदारले बताए ।

उनका अनुसार साहको होटल र होटलसँगै रहेको फलफूल पसल, ३ तोला ८ आना सुन, नगद एक लाख ९६ हजारसमेत गरी २० लाख) बराबरको क्षति भएको छ । राती सबै जना छठ पुजामा त्रियुगा नदी गएको र केही घरतर्फ गएको बेला विद्युत सर्ट भइ अचानक आगालागी भएको प्रहरीले जनाएको छ । आगलागी भएको दुई घण्टापछि त्रियुगा, चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाको वारुणयन्त्रको सहयोगमा स्थानीबासी, नेपाल प्रहरी, सशस्र प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणमा लिएको थियो । मानवीय र पशुचौपायमा क्षति नभए पनि व्यापारिक भवन भएको हुँदा व्यापारीको ठूलो क्षति भएको स्थानीयले बताएका छन्। स्थानीयबासीले भने सदरमुकाम गाईघाटबाट सात किलोमिटर नजिकमा रहँदा पनि समयमा वारुणयन्त्र पुग्न नसकेको बताएका छन् । आगलागी भएको ४५ मिनेटपछि वारुण यन्त्र पुगेको स्थानीयले बताएकाछन् । समयमा वारुणयन्त्र नपुग्दा ठुलो क्षति व्यहोर्नु परेको स्थानीयले बताएकाछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्