सुरेश आले “सर्जु”
बिर्तामोड । बिर्तामोड ३ सैनिकमोडमा चोरीका घटना बढेपछि स्थानीय असुरक्षित भएका छन् ।

राजवंशीको घरमा चोरी भएको ठाउँ

यहाँ डेढ महिनामा पाँच ठाउँमा चोरी भएको हो । बिर्तामोड –३ शुभलक्ष्मी टोलका राजकुमारसिंह राजवंशीको घरमा गोवद्र्धन पूजाका दिन चोरी भएको छ । चोरले सुनचाँदीका गरगहना, एलसिडि टिभि, नगदसहित चार लाख एकासी हजार बराबरको धनमाल लगेको राजवंशीले बताएका छन् । उनले चोर पत्ता लगाई कार्वाही गर्न र टोलबासीलाई सुरक्षा दिलाउन अनारमनी प्रहरी चौकीमा निबेदन दिएका छन् । राति घरमा कोही नभएको समयमा उनको घरमा चोरी भएको हो ।
गत बुधबार बेलुकी घरमा राति आफू नरहने र रेखदेख गरिदिन छिमेकीलाई भनेर राजवंशी घरमा ताल्चा लगाई दिदीको घरमा टिका लगाउन कोरोबारी गएका थिए। तर एक्कासी बिहान छिमेकीले फोन गरी घरमा चोरी भएको खबर गरेपछि आफू टिका नलगाई फर्किएको राजवंशीले बताए। ‘घरमा गेटको ताल्चा फोरेर चोर राति पसेको रहेछ’ उनले भने ।

त्यसको केही दिनअघि मात्र सैनिक बजार जाने सडक पश्चिमपट्टि रहेको श्याम ग्रिल उद्योगमा चोरले वेल्डिङ मेसिन,स्टेन्ड कटर,ड्रिल मेसिनलगायतका सामान चोरी गरेका थिए । तर संयोगबस आफ्नो चोरिएको सामान बिर्तामोड –९ आदर्श टोलको धानबारीमा भोलिपल्ट बिहान स्थानीयले भेटेर खबर गरेको श्याम ग्रिल उद्योगका संचालक श्याम माझीले बताए । लगभग ७० हजारको उनको सामान चोरी भएको थियो । कारखानाको पश्चिमपट्टिको टिनको बेरा भत्काएर चोर भित्र पसेको रहेछ । ती सामान ट्याम्पोमा हालेर लगेको र पछि बिक्री गर्ने उद्देश्यले धानबारीमा चोरले लगेर राखेको हुनसक्ने माझीले अनुमान गरेका छन्।

त्यस घटनाको केही दिन फरकमै श्याम ग्रिल उद्योग उत्तरपट्टि दिलकुमार नेम्बाङको मे ११ त ४७०४ न. को एफ जेड मोटरसाईकल घरबाटै चोरी भएको थियो । छिमेकी ढुंगाना हार्डवेयरका संचालक मनोज ढुंगानाले चोरले रातिको समयमा मोटरसाईकल लैजादै गरेको दृश्य सिसिटिभि क्यामेरामा कैद भएको बताए । ‘तर टाउकोमा हेल्मेट र मुखमा कपडा बेरेकोले चोरको अनुहार चिन्न सकिएन’ उनले भने।

त्यस्तै इन्द्र सरोबर मल्टी पर्पोज इन्डस्ट्रीको पानी तान्ने पम्प चोरी भएको इन्डस्ट्रीका संचालक भिम घिमिरेले जानकारी दिए । घिमिरेले यसभन्दा अघि पनि आफ्नो ग्यास सिलिन्डरलगायतका सामान त्यही ठाउँबाट चोरी भएको बताए । त्यस्तै श्याम ग्रिलका संचालक माझीका अनुसार उनको नजिक रहेको उद्धिम ओलीले संचालन गरेको ग्रील उद्योगबाट समेत तारलगायतका सामग्री केही दिनअघि चोरी भएको थियो । यसरी सैनिकमोड क्षेत्रबाट मात्र डेढ महिनाको समयमा पाँच ठाउँमा चोरी भएको पीडितहरुले जानकारी दिएका छन् । जाहेरी दिँदा समेत प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न नसकेको स्थानीय मनोज ढुगानाले गुनासो व्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्