झापा, मंसिर १ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० भृकुटीनगरस्थित एउटा घरमा बम विष्फोट हुँदा दुईजना घाइते भएका छन्।

सृजन भनिने दिवाकर मल्लको घरमा गएराति सवा आठ बजेतिर भएको बम बिष्फोटमा परेर विप्लव समूहका विद्यार्थी संगठन बाँकेका अध्यक्ष सल्यान बागचौर–२ निवासी डिल्लीबहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता घोडागोडी नगरपालिका १ कैलालीका धर्मराज सुनार घाइते भएका हुन्।

घाइतेमध्ये सुनारको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनलाई भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ।
अर्काको भने भेरीमै उपचार भैरहेको छ। बाँकेका डिएसपी रामप्रसाद घर्तीले कुकर बम बिस्फोट भएको पुष्टि गरे। उनीहरुले बम बनाउँदै गरेको अबस्थामा बिस्फोट भएको हुन सक्ने आशंका गरिएको छ।

घटनास्थलमा थप बम फेला परेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको थियो। डिल्ली एक वर्षअघि मल्लको घरमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। यसअघि हिजै दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भनिएको एक कार्यक्रम स्थलनजिक बम विस्फोट भएको थियो। विस्फोटमा एकजना घाइते भएका छन्। भोजपुरको तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभानजिकै बम विस्फोट भएको हो। घटनामा सुमन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक नितेशकुमार सिंहले जानकारी दिए। श्रेष्ठको खुट्टामा चोट लागेको छ। श्रेष्ठ आफैं विप्लव नेतृत्वको पार्टीका कार्यकर्ता रहेको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्