झापा, मंसिर ३ । नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार दीपक निरौलालाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ ।

काठमाण्डौ ५ प्रदेश ‘२’ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाँड्न गएको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । निरौलासहित एमालेका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल र ६ नम्बर वडाका अध्यक्ष रवि खड्कालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

निरौला बुढानीलकण्ठ–६ मा रहेको एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि प्रहरी टोली पुगेको थियो । प्रहरीले स्थानीय बासिन्दाको भीडले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखेको बताएको छ ।स्थानीय बासिन्दाले पैसा बाँडेको आरोप लगाए पनि पैसा बरामद नभएको प्रहरीले जनाएको छ । उम्मेदवार निरौलाले आफू क्यान्सरका बिरामीलाई भेट्न गएको बेला पछ्याउँदै आएका केही व्यक्तिले निराधार आरोप लगाएको भन्दै प्रमाण ल्याउन चुनौती दिएका छन् । प्रहरीले निरौलालाई गएराति नै छाडिसकेको छ ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी, काठमाण्डौ क्षेत्र नम्बर–५ ले विज्ञप्ति निकालेर क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको बेला प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने काम भएको जनाएको छ ।

स्वतन्त्र उम्मेदवार चढेको गाडीबाट डेढ लाख रुपैयाँ बरामद

महोत्तरीको बर्दिवास–११ स्थित खयरमाराको पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जन चढेको गाडीबाट प्रहरीले डेढ लाख नगद बरामद गरेको छ ।

शुक्रबार साँझ पाँचे टोलमा पुगेका योञ्जनको गाडीबाट रकम फेला पारी बरामद गरिएको महोत्तरी प्रहरीले जनाएको छ । महोत्तरी क्षेत्र नं १ (२) का स्वतन्त्र उम्मेदवार योञ्जनले आचारसंहिताविपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिँडेको पाइएपछि डेढ लाख रकम बरामद गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

बा १४ च ८८७४ नम्बरको स्कोरपियोमा अन्य व्यक्तिहरुलाई लिएर हिँडेका योञ्जनसहितका व्यक्तिलाई प्रहरीले शनिबार स्पष्टीकरण सोध्ने गरी छाडेको महोत्तरी क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । शनिबार स्पष्टीकरण सोधिने र चित्तबुझ्दो जवाफ नआएमा २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्