भद्रपुर, मंसिर ३ । निर्वाचनलाई प्रभावित पार्न अज्ञात समूहले झापा सदरमुकामस्थित चन्द्रगढीको वीरेन्द्र मावि मतदान स्थल अगाडि राखेको बमजस्तो देखिने बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको पश्चिम पट्टिको गेटमा गएराति बमजस्तो देखिने बस्तु फेला परेको थियो ।
दुईवटा झोलामा भेटिएको बमजस्तो देखिने बस्तु फेला परेपछि प्रहरीले उक्त बस्तु रहेको स्थानमा सर्वसाधारणलाई जान निषेध गरेर सुरक्षा दिएको थियो भने नेपाली सेनाको डिस्पोजल टोलीले सुरक्षित स्थानमा डिस्पोज गर्दा शक्तिशाली आवाज नसुनिए पनि बारुदजन्य पदार्थ पड्किएको जस्तो आवाज आएको थियो ।
झापा प्रहरी प्रमुख विश्वमणि पोखरेलका अनुसार बम नभएर बालुवा र अन्य चिज भरेर बम जस्तो देखिनेगरी राखिएको बस्तु मात्र रहेको थियो ।
गएराति ९ बजेर ४० मिनेटमा वीरेन्द्र माविको पश्चिम पट्टीको गेटमा शंकास्पद वस्तु फेला परेको थियो । त्यसको केही समयपश्चात् उत्तरतर्फको सानो गेटमा फेरि अर्को शंकास्पद बस्तु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पहिला फेला परेको वस्तु कार्टुनले प्याक गरी तार निकालिएको छ । त्यसमाथि खतराको संकेत उल्लेख गरिएको छ । दोस्रो शंकास्पद वस्तु झोला हो । एउटै मतदान स्थलमा दुईवटा शंकास्पद वस्तु फेला परेसँगै स्थानीयमा त्रास फैलिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्