एजेन्सी । बार्सिलोनाका १८ वर्षीय मिडफिल्डर गावीको उत्कृष्ट प्रदर्शनको सहयोगमा स्पेनले कोस्टारिकालाई ७–० ले हराएर बुधबार विश्वकप २०२२ मा उत्कृष्ट सुरुवात गरेको छ ।

अल थुमामा रंगशालामा गावीको प्रदर्शन लोभलाग्दो रह्यो र उनले ७४ औं मिनेटमा गोल पनि गरे । स्पेनले आकर्षक पास खेल्दै निक्कै उच्चस्तरको फुटबल प्रदर्शन गर्यो । युवा र युरो २०२० को सेमिफाइनल पुगेको टिमका खेलाडीले भरिएको स्पेनी टिमको छोटो पास र सटिक आक्रमणसामु कोस्टारिका निरिह रह्यो । स्पेनको सात गोलमा सबभन्दा उत्कृष्ट गावीकै रह्यो । उनी ब्राजिली लिजेन्ड पेलेपछि विश्वकपमा गोल गर्ने दोस्रो कान्छो खेलाडी भए ।

सन् २०१० को विश्वकप विजेता स्पेनको फराकिलो जितमा ड्यानी ओल्मोले ११ औं मिनेटमै गोलको खाता खोलेका थिए । मार्को एसेन्सियोले २१ औं मिनेटमा अग्रता दोब्बर बनाए । फेरान टोरेसले दुई गोल गरे । उनले ३१ औं मिनेटमा पेनाल्टीमार्फत आफ्नो पहिलो गोल गरे भने दोस्रो गोल ५४ औं मिनेटमा गरे । त्यसपछि गावीको निक्कै नै उत्कृष्ट गोल निस्कियो । कार्लोस सोरेसले ९० र अल्बारो मोराटाले इन्जुरी समयमा गोल गरेपछि स्पेनको ७–० को जित सम्भव भयो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्