दमक ,मंसिर ९ । ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसाबिरुद्धको अभियान’ भन्ने नाराका साथ देशैभर सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान दमकमा पनि शुक्रवारबाट सुरु भएको छ ।

दमक नगरपालिकासहित बिभिन्न ३० वटा अधिकारवादी संघसंस्थाहरुको सहकार्यमा अभियान सुरु भएको हो । दमक नगर उपप्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रमका वक्ताहरुले कुनै पनि प्रकारका हिंसा न्यूनीकरणका लागि घर–घरबाटै पहल गरिनु पर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राम थापाले हिंसाबिरुद्धको यो अभियान सोह्र दिन मात्रै नभएर निरन्तर सञ्चालन हुने बताए । यस्ता अभियानले सचेतना ल्याउने भन्दै उनले हरेक व्यक्ति हिंसाबिरुद्धको अभियानमा सामेल हुनुपर्ने बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप गिरीले महिला संगसंगै पुरुषहरु पनि हिंसामा पर्ने भएकाले कुनै पनि प्रकारका हिंसालाई समाजले निरुत्साहित गर्नुपर्ने बताए । नेपालजस्तो अल्पविकसित मुलुकमा महिला तथा बालबालिकाहरु धेरै हिंसामा पर्ने गरेको भन्दै उनले यसको न्यूनीकरणका लागि सचेतना कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी महिला नेतृ लता चापागाईं, आम्दा अस्पताल तथा स्वास्थ्य बिज्ञान प्रतिष्ठान दमकका सकुन्तला चापागाईंले शिक्षित व्यक्तिबाटै पनि हिंसाका घटना हुने गरेकाले यो ठुलै चुनौती भएको बताए । दाईजो, तिलकका नाउँमा शिक्षित भनिएका व्यक्तिबाटै महिलाहरु हिंसामा पर्ने गरेको उदाहरण दिँदै उनीहरुले यस्ता घटना न्यूनीकरणका लागि महिलामात्रै सचेत भएर नहुने बताए । कार्यक्रममा नगर उपप्रमुख भट्टराईले अभियानअन्तर्गत सोह्रै दिनसम्म सञ्चालन गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराएकी थिइन् ।

औपचारिक कार्यक्रम सुरु हुनुभन्दा अघि बिभिन्न संघसंस्थासहितको र्यालीले दमक बजार परिक्रमा गरेको थियो । हिंसाबिरुद्धका बिभिन्न प्लेकार्ड बोकेर र्याली दमक बजार परिक्रमा गरेर स्थानीय पशुपति मन्दिरमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्