एजेन्सी । लियोनल मेसी र एन्जो फर्नान्डेजले दोस्रो हाफमा गोल गरेपछि अर्जेन्टिनाले कठिन खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै शनिबार विश्वकप २०२२ को नकआउट चरण प्रवेशको सम्भावनालाई कायमै राखेको छ ।

लुसेल रंगशालामा भएको खेलमा मेसीले ६४ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जोले ८७ औं मिनेटमा अग्रता दोब्बर बनाउँदै अर्जेन्टिनाको जित पक्का गरे । दुवै गोल उत्कृष्ट रह्यो ।

कतार संस्करणमा पहिलो जितसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूह चरण पार गर्ने सम्भावना बढाएको हो । अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियाविरुद्ध २–१ अप्रत्यासित हार बेहोरेपछि मेक्सिकोविरुद्ध जित्नैपर्ने दबाबमा परेको थियो ।

शनिवार नै भएको खेलमा साउदीमाथि २–० को जित निकालेको पोल्यान्ड ४ अंकसहित समूह ’सी’को शीर्षस्थानमा रहेको छ । तीन अंक बटुलेको साउदीले समूह चरणको अन्तिम खेलमा मेक्सिकोविरुद्ध प्रतिस्पर्धा गर्ने छ । पोल्यान्डसँग गोलरहित खेलेको मेक्सिकोलाई अर्जेन्टिनाविरुद्धको हारले अन्तिम १६ मा स्थान बनाउन कठिन हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्