झापा , पुष ११ । विराटनगरको तीनपैनी चोकमा हरेक साँझ केही धान मिल सञ्चालक एवं बिचौलियाको भेला हुन्छ ।

भेलाले भोलिपल्ट धान खरिद बिक्री हुने मूल्यको निर्धारण गर्छ । अनि त्यही मूल्यमा उत्पादन बेच्न किसान बाध्य हुन्छन् । यस्तो भेला यसअघि अतिथि सदन अगाडि हुन्थ्यो । सरकारले समर्थन मूल्य तोके पनि सम्बन्धित निकायले समयमा धान खरिद नगर्दा पूर्वका किसान मिल सञ्चालक एवं बिचौलियाबाट पीडित हुँदै आएका छन् । सरकारले कात्तिक दोस्रो साता मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकेको थियो । सरकारी निकायले तय गरेको मूल्यमा धान खरिद नगर्दा किसान मोटा धान राधा १२ प्रतिक्विन्टल २ हजार ६ सय ५०, मध्यममा पर्ने कान्छी बास २ हजार ५ सय ५० र रञ्जित मन्सुली प्रतिक्विन्टल २ हजार ९ सयमा बिक्री गर्न बाध्य छन् । ऊबेलादेखि हुँदै आएको यस्तो भेलाले धानको माग तथा आपूर्तिका आधारमा मूल्य निर्धारण गर्ने गरेको उद्योग वाणिज्य महासंघ प्रदेश १ का कृषि संयोजक श्रवण अग्रवालको भनाइ छ । ‘सीमावर्ती क्षेत्रको बजार मूल्य र माग अनि आपूर्तिको अवस्थालाई हेरेर धान लगायत कृषि उपजको मूल्य परम्परादेखि नै यसै गरी तोकिँदै आएको छ,’ अग्रवालले भने, ‘अहिले उपलब्ध हुने धानमा कम्तीमा पनि १६ प्रतिशत भुस हुने गरेकाले मूल्यांकन कम हुनु स्वाभाविक हो ।’ उनको अनुसार अहिले उपलब्ध हुने धानमा बढीमा १४ प्रतिशत मात्र भुस हुनुपर्ने हो ।

यसरी तोकिएको मूल्यलाई यहाँको व्यापार संघले सार्वजनिक गरेपछि मोरङ, सुनसरी र झापामा लागू हुँदै आएको संघकै कार्यकारी निर्देशक कृष्ण रेग्मीले पुष्टि गरिदिए । उनले थपे, ‘यसरीे निर्धारण गरेको मूल्यलाई प्रदेश सरकार र स्थानीय प्रशासनले समेत मान्यता दिँदै आएको छ ।’ सिँचाइ, मल र बीउमा अनुदान पाउने गरेकाले सीमावर्ती भारतीय किसानको उत्पादन लागत कम पर्दा त्यहाँ धानको मूल्य यहाँको भन्दा न्यून हुन्छ । एक व्यापारीका अनुसार सीमावर्ती क्षेत्रबाट बढी मूल्यमा धान बिक्री गर्न ल्याउने गर्छन् । यस्तो भेलाले मिलेमतोमा सक्दो न्यून मूल्य तोक्दा स्थानीय किसान थप मारमा पर्दै आएको ती व्यापारीले प्रस्ट्याए । प्रदेश १ मा गत वर्षको दाँजोमा यस वर्ष धान उत्पादनमा वृद्धि भए पनि सिजनमै भारतबाट धान आयात रोकिएको छैन । विराटनगर भन्सारको तथ्यांकअनुसार जोगवनी नाकाबाट मंसिरमा १६ करोड ९३ लाख १५ हजार मूल्यको ४ हजार ८ सय ५१ टन र कात्तिकमा ९५ लाख ९२ हजार मूल्यको ३ सय २३ टन धान आयात भएको छ । प्रदेश १ मा गत वर्षको भन्दा यस वर्ष १६ हजार २ सय ८२ टन धान बढी फलेको प्रदेश १ कृषि निर्देशनालयको तथ्यांक छ । यस वर्ष प्रदेशको ३ लाख ३१ हजार ८८ हेक्टरमा धान रोपाइँ हुँदा १२ लाख ९८ हजार ८ सय ५५ टन धान उत्पादन भएको छ । गत वर्ष ३ लाख ३६ हजार १ सय २३ हेक्टरमा धान खेती हुँदा १२ लाख ८२ हजार ५ सय ७३ टन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्