कुमरखोद,पुष १७ । झापा गाउँपालिका वडा नं. ४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयले संस्थापक स्व. डिल्लीराज गणेशको ३३ औं स्मृति दिवस तथा ५९ औं वार्षिकोत्सव मनाएको छ ।

झापाको पुरानो सदरमुकामले चिनिने झापा बजारदेखि ५०० मिटर पूर्वमा डिल्लीराज मावि रहेको छ । २०१९ सालमा अहिलेको झापा गाउँपालिकामा ( साविक कुमरखोद , टाँघनडुब्बा र शरणामती ) माध्यमिक विद्यालय थिएन । प्राविहरु मात्रै थिए । शिक्षाप्रेमी स्व. डिल्लीराज गणेशले २०२० सालमा आफ्नै लगानीमा विद्यालयका लागि १० कोठे पक्की भवन र छात्रावास निर्माण गरिदिएका थिए भने विद्यालय संचालनको लागि १० विगाह जग्गा दानसमेत दिएका थिए ।

स्व.गणेशको यस महान कार्यबाट अभिप्रेरित भई स्व. कमलदेवी अग्रवाल , स्व. भैयालाल गणेश , स्व. बाबुलाल अग्रवाल , स्व. नारायण गणेश , स्व. जंजालु राजवंशी, स्व खड्गधारी गणेश , स्व.सत्यनारायण गणेश , स्व.पानालाल हलवाई , स्व. रामलाल राजवंशी , स्व. पल्टन गणेश , स्व. ठाकुरकुमार श्रेष्ठ र टुकुरु गणेशलगायतका दानवीरहरुले विद्यालयलाई थप जग्गा दान गरी समृद्ध बनाएका थिए । अहिले यस विद्यालयमा कक्षा १ देखि १२ सम्मको पढाइ हुन्छ भने कुल १ हजार ४ सय ८० जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्ताले बताए । कार्यक्रममा जग्गादाता , उत्कृष्ट चन्दादाता , पूर्व शिक्षक , पूर्व विद्यार्थी , पूर्व कर्मचारी , पूर्व विद्यालय व्यवस्थापन समिति , उत्कृष्ट शिक्षक , कर्मचारीलगायतलाई कार्यक्रमका प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह र प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्ताले दोसल्ला ओढाई कदरपत्रले सम्मानित गरेका थिए । त्यस्तै २०७८ सालको एसईई र कक्षा १२ मा उत्कृष्ट अंक उत्तीर्ण गरेका विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक गुप्ताले विद्यालयले सुधार गरेको शैक्षिक गुणस्तर र भावी योजनाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज गणेशको अध्यक्षतामा सहायक प्रधानाध्यापक गोपिकृष्ण पराजुलीले स्वागत मन्तव्य राखेको कार्यक्रममा जिल्ला शिक्षा समन्वय एकाईका प्रमुख राजकुमार विक, झापा गापा शिक्षा प्रमुख जीवनप्रसाद ढकाल , झापा गापा नेपाल शिक्षक महासंघ अध्यक्ष जगन्नाथ राजवंशी , रेडक्रस उपशाखा कुमरखोदका सभापति सुन्दरलाल गणेशलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षक पशुपतिलाल गणेश , देवेन्द्रचन्द्र राजवशी , गोविन्दप्रसाद राजवंशी र लोचन यादवले गरेका थिए ।

त्यस अवसरमा नमुना विद्यालय विकासअन्तर्गत नवनिर्मित दुईतले भवन र विज्ञान प्रयोगशालाको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्