झापा, मंसिर २१ । झापाको दमक नगरक्षेत्रबाट प्रतिबन्धित ब्राउनसुगरसहित बुधबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये एक जना युवती रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुलाई बुधबार साँझ पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले बुधबार साँझ ६ः३० बजे मे. ७ प ५१०७ नम्बरको मोटरसाइकल चालक धनराज आलेलाई शंका लागेर चेकजाँच गर्दा ८ सय मिलिग्राम प्रतिबन्धित ब्राउनसुगर फेला परेको थियो । ३९ वर्षीय आलेको स्थायी घर इलामको फाकफोकथुम गाउँपालिका ४ हो भने उनी दमक १ स्थित कुमाल चोकमा बसोबास गर्दै आएका थिए ।
यस्तै, बुधबार साँझ ७ः३० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चिया दोकानमा बसिरहेको अवस्थामा दमक नगरपालिका वडा नम्बर ९ की २६ वर्षीया अनिशा कार्कीलाई पनि ब्राउनसुगरसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार अनिशा कार्कीलाई शंका लागेर चेकजाँज गर्दा उनको साथबाट २ ग्राम ब्राउनसुगर फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।



