झापा , पुष २४ । सिरहाको मिर्चैयास्थित सगरमाथा मा.वि.का एकजना विद्यार्थीले औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिटलाई पानी सम्झेर दिएपछि विद्यार्थीको मृत्यु भएको छ ।

पानी सम्झेर डिउको बोतलमा रहेको स्प्रिट खाएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो । उनी सिरहा नगरपालिका-११ भलुवाहीको भएको प्रहरीले जनाएको छ । शिक्षिकाले पानीको सट्टा दिएको स्प्रिट खाएपछि छात्राको मृत्यु भएपछि सिरहाको सगरमाथा मा.वि.का विद्यार्थीहरु आन्दोलित बनेका छन् । महिनावारी भएर पेट दुखिरहेको बेलामा पुस २२ गते विद्यालयमा औषधि खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । शिक्षिका लम्सालले माउन्टेन डिउको बोतलमा रहेको स्प्रिट पानी ठानेर दिइन् । छात्रा सिर्जनाले उक्त बोतलमा रहेको स्प्रिट पानी सम्झेर खाएलगत्तै बेहोस् भएकी थिइन् । उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्‍याइयो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भयो । सो घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आज विद्यार्थी र मृतकका आफन्तहरुले आन्दोलन सुरु गरेका छन् ।

उनीहरुले बिहानदेखि मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनका कारण राजमार्गमा चल्ने सवारी साधनहरु अलपत्र परेको छ । मृतकको शव अहिले अस्पतालमै राखिएको छ । लापरबाही गर्ने विद्यालय प्रशासन र शिक्षिकालाई कारबाही गर्नुपर्ने र मृतक छात्राको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आन्दोलित विद्यार्थीको माग छ । आन्दोलनकारीहरुलाई तितरवितर पार्न प्रहरीले ५ राउण्ड हवाई फायर र ३ सेल अश्रुग्यास फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी गराए । आन्दोलनकारीको ढुंगा लागेर ५/६ जना प्रहरी पनि घाइते भएको उनले बताए । इलाका प्रहरी कार्यालय मिर्चैया,एक एम्बुलेन्स र स्कुलमा तोडफोड भएको छ । शवलाई पोस्टमार्टका लागि प्रादेशिक अस्पताल सिरहा पठाउने तयारी हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्