झापा, पुष २९ । यस वर्षको झापा सहकारी सम्मान पुरस्कार सहकारी अभियन्ता दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ ।

झापा जिल्ला सहकारी संघले २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशिको झापा सहकारी सम्मान पुरस्कार राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी अध्यक्ष बास्कोटालाई प्रदान गरेको हो । त्यस्तै १० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशिसहित पूर्व सञ्चालक सम्मान पुरस्कार हरिकिशोर आचार्य र सोही राशिको उत्कृष्ट सञ्चारकर्मी पुरस्कार पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाललाई प्रदान गरिएको छ । यसैगरी उत्कृष्ट बहुउद्देश्यीय सहकारी संस्थाको रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाह्रदशीलाई पुरस्कृत गरिएको छ । सो पुरस्कार सहकारीका अध्यक्ष यज्ञ ओलीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै उत्कृष्ट बचत कारोवार गर्ने सहकारीको रुपमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ । सो पुरस्कार संस्थाका अध्यक्ष सुवास भट्टराईले ग्रहण गरेका थिए ।
त्यस्तै उत्कृष्ट कृषि सहकारी संस्थाको रुपमा कमल गाउँपालिकामा रहेको लगनशील कृषि सहकारी संस्था र उत्कृष्ट कारोवार गर्ने सहकारीको रुपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरलाई पुरस्कृत गरियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै उत्कष्ट कर्जा कारोबार गर्ने सहकारीको रुपमा फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरियो । उत्कृष्ट व्यवस्थापकको रुपमा भने महिलातर्फ अरुणा राई र पुरुषतर्फ विराट बहुउद्देश्यीय सहकारी संस्थाका रुद्र सिटौलालाई प्रदान गरियो । पुरस्कारको राशि जनही ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालले उक्त पुरस्कार प्रदान गरेका थिए ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्व बास्कोटा, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव भवानीप्रसाद दंगाालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्