झापा , माघ ४ । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा एक वर्षभित्र एक लाख बढीले हवाई सेवा लिएका छन् ।

पर्यटकीय विमानस्थल लुक्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म १ लाख १ हजार ५ सय १ जनाले हवाई सेवा लिएका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । जसमा ४१ हजार १ सय १८ जना भित्रिएका छन् भने ६० हजार ३ सय ८३ जना बाहिरिएको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिए । सो अवधिमा १३ हजार ८ सय ४५ पटक उडान तथा अवतरण भएको प्राधिकरणको तथ्यांकमा छ । बढी जसो उडान तथा अवतरण जहाजको र केही मात्रामा हेलिकप्टरको पनि रहेको प्राधिकरण प्रमुख श्रेष्ठले बताए । लुक्लाबाट एक वर्षभित्र ८ लाख ८९ हजार ४२९ किलो कार्गो रामेछापको मन्थली र काठमाडौं ढुवानी गरिएको छ भने ७ लाख २६ हजार ३२१ किलो कार्गो भित्रिएको प्राधिकरणले जनाएको छ । ढुवानी गरिएको कार्गो सामाग्रीहरुमा राशन, तरकारी, निर्माण सामाग्री, पर्यटकहरुको क्याम्पीङ, कपडा लगायतका रहेको बताइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भ्रमणका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकहरुले यस विमानस्थल प्रयोग गर्दछन् । रोमाञ्चक अनुभूति दिने विश्वभरका विमानस्थलमध्ये आठौँ स्थानमा लुक्ला पर्दछ । लुक्ला विमानस्थलका लागि उडान गर्दा १० मिनेटमा देखिने दृश्य र अनुभवले निकै रोमाञ्च सिर्जना गर्ने जानकारहरु बताउँछन् । यो विमानस्थल सर एडमन्ड हिलारीको सहयोगमा सन् १९६० मा निर्माण भएको हो । वि.स. २०६४ पुसमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा उनीहरूकै नामबाट विमानस्थलको नामाकरण गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्