झापा, माघ १४ । राष्ट्रिय स्वतन्त्र पार्टीको शुक्रबार साँझ बसेको आकस्मिक बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिएको छ ।

सर्वोच्च अदालतको फैसलाबाट सभापति रवि लामिछाने पदमुक्त भएपछि अर्याललाई कार्यवाहक जिम्मेवारी तोकिएको केन्द्रीय सदस्य दीपक बोहराले बताए । राजनीतिक दलसम्बन्धी ऐनमा उल्लिखित ‘पार्टी सदस्य हुनका लागि नेपाली नागरिक हुनुपर्ने’ व्यवस्थाले लामिछाने रास्वपाको सदस्यबाट समेत मुक्त भएका छन् । रास्वपामा सभापति नरहेको अवस्थामा उपसभापति कार्यवाहक हुने व्यवस्था छ ।

महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले आइतबार नै पुनः नागरिकता प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने र लामिछानेलाई नै नेतृत्वमा फर्काउने विषयमा पनि छलफल भएको बताए । ‘अदालतले गरेको फैसलालाई मान्नैपर्ने बाध्यात्मक परिस्थिति हो, कहाँ–कहाँ करेक्सन गर्नुपर्ने भन्ने विषयमा सल्लाह भइरहेको छ,’ ढकालले भने ।

टेलिभिजन पत्रकार रहेका लामिछानेले असार ७ मा राष्ट्रिय सभागृहमा पार्टी निर्माणको घोषणा गरी असार १७ मा निर्वाचन आयोगमा पार्टी दर्ता गरेका थिए । सात महिनामै चौथो ठूलो दल बनेको रास्वपा सुरुवातदेखि नै विवादमा तानिएको थियो । रास्वपाको २४ सदस्यीय केन्द्रीय कार्यसमिति छ । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, सहकोषाध्यक्ष गरी ५ जना पदाधिकारी र अन्य सदस्य छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्