बिर्तामोड , माघ १४ । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गिकरणको टुंगो लगाएको छ ।

नगर प्रमुख तथा स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले ५ वटा वडाको जग्गा वर्गीकरणको टुंगो लगाएको हो ।

नगरपालिकाले भू उपयोग ऐन २०७६ को दफा ४ तथा भू–उपयोग नियमावली २०७९ को नियम ५ बमोजिम भू–उपयोग क्षेत्र नक्सा तथा विवरण प्राप्त भएकाले उक्त क्षेत्रमा पर्ने जग्गाहरुको भू–बनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताका आधारमा जग्गालाई भूपयोग ऐन २०७६ को दफा ४ को उपदफा १ बमोजिमका क्षेत्रमा वर्गीरकण गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख प्रसाईले जग्गा वर्गीकरणका क्रममा आवासीय र व्यावसायिक क्षेत्रमा परेका जग्गालाई कृषिमा राख्न इच्छुक भए परिवर्तन गर्न सकिने बताइन् । उनले यसका लागि नगरपालिकाले आइतबारदेखि ७ दिनको समय दिएकोले लिखित निवेदन पेश गर्न आग्रह गर्नु भरिन् । नगर प्रमुख प्रसाईले बाँकी रहेका वडा नम्बर ६ देखि १०सम्मका वडाको पनि जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भईरहेकोले जतिसक्दो चाँडै टुंग्याइने जानकारी दिइन् । नगरपालिकाले वर्गीकरणको प्रक्रिया टुंगिएका १ देखि ५ सम्मका वडाको कित्ताकाट माघ अन्तिम सम्ममा खुलाउने गरि तयारी गरेको छ ।
सरकारले केहि महिनाअघि जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावलीमा जग्गालाई विभिन्न १० वटा समूहमा वर्गीकरण गरिएको छ । जसमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र छन् । यसैका आधारमा रहेर नगरका ५ वटा वडामा जग्गा वर्गीकरण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

निर्णय गरिएका ५ वटा वडा बजारक्षेत्रमा रहेका कारण आवास, व्यावसायिक, औद्योगिक र केही मात्रामा कृषि क्षेत्रमा पनि परेका छन् । यस सम्बन्धी सम्पूर्ण जानकारी नगरपालिकाले कार्यालयको वेबसाइटमा समेत राखेको छ । नगरपालिकाले कृषि क्षेत्रमा वर्गीकरण हुने जग्गामा मालपोत÷भूमिकर लागु गर्नेछ भने अन्य व्यावसायिक,आवासीय र औद्योगिक क्षेत्रमा भएको जग्गामा सम्पति कर लागु गर्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्