झापा, माघ १८ । झापाका समकालीन ऐतिहासिक एवं पर्यटकीय क्षेत्रहरु विकसित भइरहँदा बिर्तामोड ३ स्थित विराटपोखरी अझ अधोगतितर्फ धकेलिएको छ ।

अन्य ऐतिहासिक एवं धार्मिक क्षेत्रहरुले व्यापकता पाइरहँदा महाभारतकालीन इतिहास बोकेको विराटपोखरीको भविष्य विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको बेथितिले अझ अन्धकारमा धकेलिएको हो । समितिको गत माघ ७ गते आयोजित छैठौं अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन नसक्दा विराटपोखरीको विकासमा बाधा पुग्ने देखिएको हो । विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको अध्यक्षका लागि तीनजनाले उम्मेदवारी दिएका थिए । निवर्तमान अध्यक्ष इन्द्रप्रसाद प्रसाई , आकाश उप्रेती र इन्द्रनारायण प्रसाईले अध्यक्षमा उम्मेदवारी दिएका थिए् । त्यस्तै अन्य पदमा पनि एकभन्दा बढीले उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा मनप्रसाद उप्रेती र मीना पाठक , सचिवमा दिपेश प्रसाई ,जगन्नाथ भट्टराई र पुनम प्रसाई , सहसचिवमा नैनकला थापा र अर्जुन उप्रेती तथा कोषाध्यक्षमा दिनेश मैनाली र हेमचन्द्र अधिकारीले उम्मेदवारी दिएका थिए ।

नयाँ नेतृत्व चयनका लागि ध्रुवकुमार शिवाकोटीको संयोजकत्वमा कृष्ण बिमली ,पर्शुराम कडरिया , टिकेन्द्र थापा र ठाकुर उप्रेती सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो । समितिले अधिवेशन उद्घाटनका दिन सर्वसम्मतको प्रयास गर्दा नसकेपछि माघ १३ र १४ गतेका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । माघ १३ गते शुक्रवार उम्मेदवारी दर्ता , दावी विरोध , उम्मेदवारी फिर्ता र त्यसको भोलिपल्ट निर्वाचन गराउने कार्यक्रम रहेको थियो । बिधान नहेरी हचुवाको भरमा निर्वाचन समितिले सदस्यता वितरण , उम्मेदवारी दर्ता र निर्वाचन कार्यक्रम घोषणा गरेको थियो । अधिवेशनकै दिन निर्वाचन समितिले सदस्यता खुलाएको थियो । सोही दिन ८१ जनाले नयाँ सदस्यता लिई सिधै निर्वाचनमा भाग लिएका थिए । अध्यक्षका उम्मेदवार आकाश उप्रेती पक्षधर अधिकांशले नयाँ सदस्यता लिएका थिए । त्यसबाट निर्वाचन हुँदा निवर्तमान अध्यक्ष इन्द्रप्रसाद प्रसाईले निर्वाचन हार्ने देखियो । सोही कारण निर्वाचन समितिले निर्वाचन नगराउने भयो । त्यसबीचमा इन्द्रप्रसाद प्रसाई पक्षका केही उम्मेदवारले जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिए । अन्ततः निर्वाचन समितिले राजीनामा दियो ।

निर्वाचन समितिको राजीनामापछि भंग भइसकेको निवर्तमान अध्यक्ष प्रसाईको समतिलाई ब्युँताइरहँदा अध्यक्षका अर्का दावेदार उप्रेतीले निर्वाचनको मिति तोकिएको दिन विराटपोखरीमा आफ्ना समर्थक भेला गराएर आफूलाई अध्यक्ष भएको घोषणा गरे । उनको नेतृत्वमा मीना पाठक उपाध्यक्ष , जगन्नाथ भट्टराई सचिव , अर्जुन उप्रेती सहसचिव , दिनेश मैनाली कोषाध्यक्ष तथा सदस्यमा धनबहादुर भुजेल , लीला राजवंशी , अर्जुन ओली , सरोज तिम्सिना , गीता भण्डारी , विकास पाठक , पार्वता शिवाकोटी , अनुषा प्रधान , प्रविण चौलागाई र फूलचन मर्डी रहेको नयाँ कार्यसमिति स्वघोषित रुपमा गठन गरियो । एकातिर भंग भइसकेको समितिलाई ब्यँुताउने र अर्कोतिर आफै नयाँ समिति गठन गर्ने बेथिति विराटपोखरीमा देखिएको हो । जसले विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको भविष्य अन्यौल देखिएको हो ।

निर्वाचन समितिको नालायकीपनका कारण यो अबस्था सिर्जना भएको औल्याइएको छ । विधान नहेरी सदस्यता वितरण र उम्मेदवारी दर्ता गर्दा समस्या भएको बताउँदै निर्वाचन समितिका संयोजक शिवाकोटीले गल्ती स्वीकार गरेका छन् । उनले निर्वाचन समितिलाई संस्थाको विधान हेर्न नदिएको दावी गरेका छन् । निवर्तमान अध्यक्ष प्रसाईले अहिले आफ्नो नेतृत्वको समिति नै सक्रिय रहेको दावी गरेका छन् । संस्थाको कागजपत्र आफूहरुसंगै रहेको बताउँदै उनले अनुकूलता हेरेर फेरि निर्वाचन कार्यक्रम घोषणा गरिने जानकारी दिए । तर, उप्रेतीले बहुमत सदस्यहरुको उपस्थितिमा आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको दावी गरेका छन् । काही नभएको जात्रा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिमा देखिएको गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष रुद्र सिटौलाले बताए । उनले सदस्यता ऐनअनुसार निर्वाचन समितिलाई सदस्यता बाँड्ने अधिकार नभएको स्पष्ट पारेका छन् ।

महाभारतकालमा विराट राजाले खनेको जनविश्वास रहेको सो पोखरी ५ विगाह ५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । पोखरीको संरक्षण र संवद्र्धनको जिम्मेवारी पाएको समितिले त्यहाँ पिकनिक स्पोर्टसम्म विकास गर्न सकेको छैन । यसअघिका नेतृत्वहरुले काम गर्न नसक्दा विराटपोखरीको अपेक्षित विकास हुन नसकेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्