बिर्तामोड , माघ २३ । प्रदेश १ का उद्योग , कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला आउने भएपछि आ-आफ्ना समस्या लिएर झापा जिल्लाका चिया उत्पादक , किसान र श्रमिक सोमवार बिहानै बिर्तामोडमा भेला भए ।

संवाद समूहद्वारा आयोजित चिया क्षेत्रका समस्या/ सवालबारेको कार्यशालामा जिल्लाका दुई दर्जनबढी पत्रकार पनि उपस्थित थिए ।

कार्यक्रममा चिया श्रमिकका तर्फबाट नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, साना किसानका तर्फबाट साना किसान चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष हर्क तामाङ , उत्पादकका तर्फबाट नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तल र राष्ट्रिय  चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले आ-आफ्ना क्षेत्रका समस्याबारे मन्त्री सिटौलालाई ध्यानाकर्षण गराए । तर, उनीहरुका समस्याभन्दा धेरै मन्त्री सिटौलाले आफ्नो समस्या देखाए । कार्यक्रमको अन्त्यतिर बोलेका मन्त्री सिटौलाले ‘गरिबको बिहेमा १८ खाँचो ’ भन्दै राजनीतिक स्थीरता नभएसम्म समस्याको समाधान हुन नसक्ने जवाफ दिए । सबै समस्याको जिम्मेवारी राजनीतिक क्षेत्रले लिनुपर्ने भन्दै उनले राजनीतिक स्थीरता नभएका कारण समस्याको चाङ थपिदैँ जाने बताए ।

‘चिया क्षेत्रमा सबैखाले समस्या छ जुन प्रदेश सरकारले थेग्न सक्दैन ’ उनले भने ,‘ एक- दुई वर्षको प्रयत्नले समस्याको चाङ हट्दैन ।’ उनले आफूले सम्हालेको मन्त्रालयअन्तर्गतको सहकारी , कृषि र उद्योग क्षेत्रमा देखिएका विभिन्न समस्याको बेलिविस्तार लगाउँदै गए । सहकारीको बारेमा उनी यसो भन्दै थिए ‘ सहकारीको उद्धेश्य संगठित रुपमा शोषण गर्ने हो , सहकारी संचालकहरुमा शोषण गरेर हिड्ने समूहको अनुहार चित्रित हुन्छ , सदस्यहरुको रकम व्यक्तिगत रुपमा प्रयोग गर्यो , घरजग्गामा लगायो , नियामक निकाय छैन , सबै जिल्लामा रजिष्टार कार्यालय छैन , अनेकौं बेथिति छ । ’ मन्त्री सिटौलाले बाग्मतीमा एक जना सहकारी संचालकले ७ अर्बसम्म हिनामिना गरेको उदाहरण दिँदै बिर्तामोडका सहकारीका संचालकहरुले पनि १०-२० करोड हिनामिना गरेको खुलासा गरे ।

उनले कृषि क्षेत्रको समस्याका बारेमा पनि दर्शाए । कागज मिलाएर कृषिको अनुदान खाने प्रवृति बढेको भन्दै उनले त्यस्तै मानिसहरु आफू मन्त्री भएपछि फूलमाला लिएर स्वागत गर्न आउने गरेको सुनाए । खुल्ला बजारका कारण कृषि र पशुपालन क्षेत्र अस्तव्यस्त बनेको भन्दै औद्योगिक क्षेत्र पनि यतिबेला निराश बनेको बताए । मन्त्री सिटौलाले दर्विलो सरकार नहुँदा र दह्रो कुरा गर्न नसक्दा छिमेकी भारतले हेपेको प्रतिक्रिया दिए । उनले उद्योग , सहकारी र कृषि क्षेत्रको समस्यालाई रफु गर्दा वा टालो टाल्दा पनि नटालिने जवाफ दिए ।

कार्यक्रममा चिया श्रमिकका समस्या राख्दै नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले आफूहरुको माग सुनुवाई नभए केही महिनापछि सबै चिया बगान बन्द गर्ने चेतावनी दिए । साना किसान चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष हर्क तामाङले चिया निगमका सुवास सांघाईले ट्रकका ट्रक रासायनिक मल पाइरहँदा साना चिया किसानलाई मल नदिएर सरकारले अन्याय गरेको बताए । उनले साना चिया किसानलाई १ करोडभन्दा बढी सहुलियत कर्जा नदिँदा व्यवसाय गर्न समस्या भएको सुनाए ।

नेपाल चिया उत्पादक संघका सुरेश मित्तलले मलखाद , विद्युतजस्ता समस्या चिया किसान र उत्पादकको लागि साझा भएको बताए । उनले चिया अक्सनको व्यवस्था नगरे र भारतीय अवरोध कायम रहे आधाभन्दा बढी उद्योग बन्द गर्नुपर्ने अबस्था आउनेतर्फ सचेत गराए । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले चिया क्षेत्रका लागि रासायनिक मलको ठूलो समस्या रहेको कुरा आफूहरुले बुझेको भन्दै अहिले उपलब्ध भएको मलको केही कोटा चिया खेतीलाई दिने सहमति भएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्