झापा,माघ २५ । चौतर्फी आन्दोलन र दबाबपछि भारतको सर्वोच्च अदालतले हालै गरेको एक फैसलामा सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ ।

सिक्किमका पुराना बासिन्दाहरुको संगठन एसोसिएसन अफ ओल्ड सेटेलस सिक्किम (एओएसएस) ले नेपाली, भुटिया र लेप्चा समुदायहरुलाई झै आयकर छुटको मागसहित सन् २०१३ मा सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

सर्वोच्चले गत जनवरी १३ मा उनीहरुको पक्षमा फैसला गरेको थियो । फैसलाका क्रममा सर्वोच्चले सिक्किमका वहुसंख्यक नेपालीभाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपालीभाषी समुदाय तरङ्गित बनेको थियो । सिक्किमलगायत क्षेत्रमा भने विशाल प्रदर्शन भएको थियो ।

केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शव्द सच्याउन सर्वोच्चसँग माग गरेका थिए । बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शव्द हटाउने निर्णय गरेको हो । न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शव्द हटाउने निर्णय भएको हो ।
‘सिक्किमे जनताको भावना बुझेर तुरुन्तै मुद्दाको समाधान खोज्ने सर्वोच्च अदालतलाई धेरै धन्यवाद छ’, सर्वोच्चको निर्णयपछि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले ट्विटमा भने, ‘भारतीय न्यायपालिकाप्रति हाम्रो अथाह विश्वास थियो, रहिरहनेछ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्