एजेन्सी । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा हालसम्म २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

यसैबीच, संयुक्त राष्ट्रले प्रकोपको पूणर् सीमा अझै अस्पष्ट भएको चेतावनी दिएको छ । दुवै देशमा राहत र उद्धारको काम द्रुत गतिमा भइरहेको भए पनि अहिले भूकम्प गएको सय घण्टाभन्दा बढी समय बितिसकेको छ र भग्नावशेषमा पुरिएका मानिस जिउँदो हुने आशा कम हुँदै गएको छ । यसैबिच, कडा चिसोले भूकम्पबाट बाँचेका हजारौँ जनताका लागि नयाँ चुनौती खडा गरेको छ । यहाँ बस्ने ठाउँबाहेक खानेकुराको चरम अभाव भइरहेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस प्रकोपको पूणर् तस्बिर अझै खुल्न नसकेको बताएका छन् । विशेष गरी विगत केही वर्षदेखि गृहयुद्धको मार झेलिरहेको सिरियामा । यसैबिच, विश्व स्वास्थ्य सङ्गठनले यदि बाँचेकाहरूलाई खाना, पानी, औषधि र आश्रय जस्ता सहायताहरू ‘तीव्र रूपमा पुर्‍याइएन’ भने, अर्को प्रकोप आउन सक्ने चेतावनी दिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले दक्षिणी टर्कीका १० प्रान्तमा तीन महिनाको आपत्काल घोषणा गरेका छन् र भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन् । ओस्मानिये प्रान्तमा भइरहेको राहत तथा उद्धार कार्यको समीक्षा गरेपछि उनले भने, ‘यस भूकम्पले ठुलो जनधनको क्षति भएको छ, यसलाई शताब्दीकै विपत्ति भन्न सकिन्छ । राहत र उद्धार कार्यमा सहयोग गर्न हजारौँ मानिस अगाडि आए । देशका विभिन्न भाग र अन्य मुलुकबाट पनि यस क्षेत्रमा सबै प्रकारका सहयोग र सवारीसाधन ल्याइएको छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्