झापा, माघ २८ । तेह्रथुमको म्याङलुङ नगरपालिका-१० सुर्केमा बिहीबार राति ८ः४५ बजे ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

अर्का एकजना गम्भीर घाइते भएका छन् । बसन्तपुरबाट म्याङलुङतर्फ खाना पकाउने ग्यास लिएर आउँदै गरेको को २ त ५५३८ नम्बरको ट्र्याक्टरले पैदलयात्री ६२ वर्षीय दलबहादुर लिम्बूलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको ट्र्याक्टर घरको छानामा पल्टिएर खाना पकाउँदै गरेकी ७६ वर्षीया हर्कमोती लिम्बूलाई किचेको ट्राफिक प्रहरी जवान सन्तोष भुजेलले बताए । घाइते लिम्बूको उपचारको क्रममा जिल्ला अस्पताल तेह्रथुममा मृत्यु भएको छिमेकी बिजेस भटराईले बताए । शव जिल्ला अस्पतालमा राखिएको छ । गम्भीर घाइते दलबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै फरार भएका चालक २२ वर्षीय देशबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्