भद्रपुर, माघ २८ । झापाको सदरमुकाम भद्रपुरमा दिन प्रतिदिन चोरीका घटना बढिरहेको भएपनि प्रहरीले चोर पक्रन नसक्दा असुरक्षा चुलिदै गएको छ ।

बस्नेतको चोरिएको मोटरसाइकल


असोज महिनायता मात्र नियाल्ने हो भने भद्रपुरमा दर्जनबढी चोरीका घटना भएको उजुरी परेको छ । तर पनि प्रहरीले एक जना पनि नियन्त्रणमा लिन नसक्दा आम नागरिकमा असुरक्षा बढेको हो । शनिवार साँझ ६ बजे भद्रपुर ५ स्थित कृष्णराज कम्प्लेक्स सिनेमा हल अगाडिबाट मे ७ प २०६३ नम्बरको होण्डा कम्पनीको साइन मोटरसाइकल चोरी भएको छ । संचारकर्मी प्रदीप बस्नेतको सो मोटरसाइकल चोरिएको हो ।

त्यस्तै भद्रपुरमा घरमा कोही नभएको मौका छोपी दिउँसै समेत घर फोर्ने गिरोहले दर्जनबढी घरबाट नगद, गरगहना, भाँडाकुडा समेत चोरिरहेका छन् ।
चरनमा रहेका खसीबोका, कुखुरा चोर्ने चोरको पनि बिगबिगी बढ्दो छ । चोरिएका सामग्रीसहित चोर फेला परेको एउटा पनि घटना नदेखिनुले चोरको मनोवल बढ्न पुगेको स्थानीयको गुनासो छ ।
मोबाइल, ल्याप्टप, साइकल, मोटरसाइकल, पानी तान्ने पम्प, कलधारा चोरी गर्ने पनि उत्तिकै सक्रिय देखिए पनि प्रहरीले समातेर कानुनको दायरामा ल्याउन सकेको छैन ।

भद्रपुर ९ का पूर्व वडा सदस्य नुतन पौडेल पनि दुले चोर पीडित हुन् । उनको घरबाट केही महिना अगाडि लाखौंका गरगहनासहित चाँदी र पित्तलका भाँडाकुडा दिउँसै चोरिएका थिए ।
घरमा कोही नभएको मौका छोपेर चोरले दिउँसै घर फुटाएर चोरेको थियो । घटना भएको केहीबेरमै जानकारी पाएर प्रहरीलाई चोर पत्ता लगाउन निवेदन दिए पनि चोर समातिएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्