झापा , फागुन १ । चर्चित मेडिकल उद्यमी दुर्गा प्रसाईले मेची पुलबाट आज सुरु गर्ने ‘नागरिक बचाउ महाअभियान’मा पूर्वराजा ज्ञानेन्द्र शाह सर्वसाधारणको ‘भीड हेरेर’ सहभागी हुने बुझिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउन महाअभियान उद्घाटनका अवसरमा उपस्थित हुन अभियन्ता प्रसाईले पूर्वराजा शाहलाई निम्तो दिएको सार्वजनिक भइसकेको छ । पूर्वराजा निकट स्रोतका अनुसार पूर्वराजा शाह सो कार्यक्रममा आउने तयारीमा छन् । तर, कार्यक्रममा सहभागिता कति धेरै हुन्छ भन्ने आधारमा उनको आगमन हुने स्रोतको दावी छ । ‘सहभागिता सानो भयो भने उहाँ आउनुहुन्न होला , तर हजारौं सर्वसाधारण भेला भए भने महाअभियानको उद्घाटन गर्न आउनुहुन्छ ’ , स्रोतले बताए । पूर्वराजा ज्ञानेन्द्र शाह राजपरिवारका सदस्यहरुसहित केही दिनदेखि दमकको हिमालय चिया बगानस्थित हिउँदकालीन दरबारमा बस्दै आएका छन् । दमकको दरवारमा आज विहानैदेखि सुरक्षाकर्मीको चहलपहल बढेको छ । काँकरभिट्टामा सवारी चलाउने तयारी स्वरुप सुरक्षाकर्मीको सक्रियता बढेको स्रोतको दावी छ । अभियन्ता प्रसाईले आइतवार विर्तामोडमा पत्रकार सम्मेलन गरी आजको उद्घाटन कार्यक्रममा दुई लाख सर्वसाधारण उतार्ने दावी गरेका थिए । उनले पूर्वराजा ज्ञानेन्द्र आफ्नी पत्नी र छोरासहित कार्यक्रममा सहभागी हुने दावी गरेका थिए । आयोजक स्रोतका अनुसार पूर्वराजा शाहले तामाको नौमुखे दीयो बालेर मेची पुलबाट महाअभियानको उद्घाटन गर्नेछन् । लघुवित्त र बैंकहरुले चर्को ब्याजदर लगाएर जनतालाई आत्महत्या गर्न बाध्य पारिरहेको भन्दै चर्को प्रचारबाजी गरेर पछिल्लो समय प्रसाई थप चर्चामा छन् । उनी राजाबादी राजनीतिक लाइनमा गएको चर्चा पनि चल्न थालेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्