सुरुङ्गा, फागुन १।२८ औं जनयुद्ध दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्रले कनकाई घाट क्षेत्रको सरसफाई गरेको छ ।


माओवादी केन्द्र कनकाईको आयोजनामा कनकाई माई नदी परिसरको कनकाई घाट क्षेत्रको सरसफाई गरिएको माओवादी केन्द्रका कनकाई अध्यक्ष यामनाथ सेडाईले बताए । २०५२ साल फागुन १ गतेबाट माओवादीले सशस्त्र युद्धको थालनी गरेको थियो । उक्त दिनलाई माओवादीले आफ्नो जनयुद्धको दिवसको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । सरकारले जनयुद्ध दिवसको अवसरमा सोमवार सार्वजनिक विदा दिएको थियो ।

सरसफाई कार्यक्रममा बोल्दै माओवादी केन्द्रका प्रदेश समिति उपाध्यक्ष मणिकुमार साम्पाङ बिजयले माओवादी आन्दोलनको जगमा यी सबै व्यवस्थाको स्थापना भएको दावी गरे । उनले माओवादीहरुले हिजो राजतन्त्र फ्याल्नका लागि आन्दोलन गरेको स्मरण गर्दै सामाजिक कुरीति र कुसंस्कार अन्त्यका लागि आगामी दिनमा लागिपर्ने बताए । सरसफाई अभियानमा माओवादी केन्द्रका नेतृ तथा संविधानसभा सदस्य बर्षा साम्पाङ, माओवादी केन्द्रका प्रदेश सदस्य गोपाल प्रसाई, नगर उपाध्यक्ष दिलिप घतानी, रामबहादुर थापा, सचिव विष्णु बिमली, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापालीलगायत २ सय बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्