झापा, फागुन २ । यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गरेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

सडकमा केही मात्र माइक्रो, ट्याक्सीहरू चलेपनि अन्य सार्वजनिक सवारीसाधन चलेका छैनन् ।
यातायात नचलेपछि यात्रुहरू कोचिएर यात्रा गर्न बाध्य भएका छन् । निजी मोटरसाइकल, गाडीहरू भने चलिरहेको प्रहरीले जनाएको छ ।

सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै विरोधको रुपमा उनीहरूले यातायात नचलाउने घोषणा गरेका हुन् । सोमबार सवारी चालकहरूले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध सडकमा प्रदर्शन गरेका थिए । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेस्र्याएर सडक अवरुद्धसमेत गरेका थिए ।
उनीहरुले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने विरोध गरेका छन् । विसं २०५६ मा काठमाडौं महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो ।

उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर–दोहोर गर्दै आएका छन् । सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।

पछिल्लो समय नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्