हल्दिवारी , फागुन २ । हल्दिवारी गाउँपालिकाले गर्न लागेको भू–उपयोग योजना र जग्गा वर्गीकरणप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

नागरिकलाई अनावश्यक दुःख दिने मनसायका साथ भू–उपयोग योजना र जग्गा वर्गीकरण गर्न लागेको एमालेले आरोप लगाएको छ । हल्दिबारी गाउँपालिकाले यही मिति २०७४ साल माघ १२ गतेका दिन सार्वजनिक सूचना प्रकाशन गरी माग निवेदनको साथमा नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, मालपोत तिरेको रसिद र नक्साको सक्कल प्रतिसमेत पेश गर्न भनी सूचना जारी गरेर नागरिकलाई कष्ट दिन खोजेको एमाले हल्दिबारी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाले बताएका छन् ।

हल्दिवारी गाउँपालिकालाई मंगलवार ध्यानाकर्षणपत्र बुझाउँदै सापकोटाले तत्काल नागरिकबाट माग गरिएको निवेदन प्रक्रियालाई स्थगन गरी सर्वपक्षीय छलफलको माध्यमबाट तथा गाउँपालिकाबाटै कर्मचारीहरु खटाई टोलटोलमा गई आवश्यक राय सल्लाह संकलन गरी यथाशीघ्र भू–उपयोग योजना र जग्गा वर्गीकरणको काम अगाडी बढाउन माग गरेका छन् । उनले आफ्ना मागलाई बेवास्ता गरी भू–उपयोग योजना र जग्गा वर्गीकरणको काममा ढिलासुस्ती तथा नागरिकलाई कष्ट दिन खोजे चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई पूर्व जानकारी दिई आफूहरु ध्यानाकर्षणपत्र बुझाउन गएकोमा उनी कार्यालयमा नभेटिएको एमालेका हल्दिवारी इन्चार्ज नरेश चुडालले बताए । गाउँपालिका अध्यक्ष लिङ्देन नभेटिएपछि गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेलाई उनीहरुले सो ध्यानाकर्षणपत्र बुझाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्