बिर्तामोड,फागुन २ ।करिव ९ महिनाअघि बिजुली बाल्नकै लागि चर्को आन्दोलन गरेका बिर्तामोड ५ स्थित बुधबारे हटिया (देवीहाट) का व्यवसायीहरुलाई नगरपालिकाले हटाउने प्रक्रिया शुरु गरेको छ ।

बिर्तामोड नगरपालिकाले बुधबारे हटिया (देवीहाट) को संरचना खाली गर्न ३५ दिने सूचना जारी गरेको हो । नगरपालिकाले मंगलवार एक सूचना जारी गर्दै ३५ दिनभित्र घर टहरा खाली गर्न सूचित गरेको छ ।

बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेको कृषिथोक उत्तरमा रहेको बुधबारे हटियामा बहुतले व्यवसायिक भवन निर्माण गर्ने योजनाअनुरुप घर टहरा खाली गराउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए । बुधबारे हटियामा बहुतले व्यवसायिक भवन निर्माणका लागि डीपीआर अघि बढाउने प्रक्रिया शुरु गरिएको न्यौपानेले बताएका छन् ।
बिर्तामोड–५ मा रहेको बुधबारे हटियामा ७० वटा घर टहरा रहेका छन् । बिर्तामोड नगर कार्यपालिकाको माघ २७ गते सम्पन्न कार्यपालिका बैठकले घर टहरा खाली गराउने निर्णय गरेको थियो । नगरपालिकाले ३५ दिनभित्र खाली गर्न प्रकाशन गरेको सूचना अन्तिम पटकका लागि भएको जनाएको छ ।

स्थानीय राजनीतिक दलहरुको लिखित सुझाव र सहमतिका आधारमा बुधबारे हटियालाई व्यवस्थित बनाउन लागिएको हो । दलहरुकै सुझावमा कार्यपालिकाले घर टहरा खाली गर्ने निर्णय गरेको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताईन् । उनले बजारलाई व्यवस्थित गर्न नयाँ संरचना बनाइने जानकारी दिइन् ।

दाताले दिएको १ विगाह ३ कठ्ठा जमिनमा बुधबारे हटिया सुरु भएको थियो । गत जेठ महिनाको अन्तिममै नगरपालिकाले त्यहाँका व्यवसायीहरुलाई हटाउने सोच बनाएको थियो । नगरपालिकाले हटाउने योजना बनाइरहँदा व्यवसायीहरुले बिर्तामोड उद्योग वाणिज्य संघको सहयोगमा बसेकै घर टहरामा विद्युत मिटरको माग गर्दै चर्को आन्दोलन गरेका थिए । जुन आन्दोलन निकै दिन चलेको थियो । आखिर केही महिनाका लागि भएपनि नगरपालिकाले विद्युत मिटर जडान गर्न दिएको थियो । अब नगरपालिकाले खाली गराउने प्रक्रिया नै थालेको छ । आफूहरुसंग कुनै सल्लाह नगरी नगरपालिकाले सो सूचना जारी गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । उनले आफूहरु महोत्सवमा व्यस्त भएका बेला नगरपालिकाले त्यस्तो कदम चालेको प्रतिक्रिया दिए ।‘हामी त्यसबारे छलफल गर्छौं’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्