झापा, फागुन ४ । प्रतिनिधिसभाका सभामुख र उपसभामुखले देशको राजनीतिक अन्यौलताप्रति चिन्ता व्यक्त गरेका छन् ।

बिर्तामोड नगरपालिकाले विहीवार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरले निर्वाचनपछि देशमा सुशासन र स्थीरता कायम हुनुपर्नेमा राजनीतिक अस्थीरता र अन्यौलता थपिदै गएपछि चिन्ता गरेका हुन् । कार्यक्रममा बोल्दै सभामुख घिमिरेले अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले पनि देशलाई राजनीतिक अन्यौलतामा धकेलेको बताए । उनले सरकारमा बस्ने नबस्ने , सरकारमा रहेर विरोध गर्ने , सरकारमा नरहेर विरोध गर्ने राजनीतिक दलहरुको गन्तव्य के हो ? उद्धेश्य के हो ? आफूले बुझ्न नसकेको बताए । यी यस्ता चुनौती र प्रतिकुलताको सामना गर्दै संसदलाई जनताको समस्यालाई निष्पक्षताका साथ छलफल गर्ने थलो बनाउने आफ्नो जिम्मेवारी भएको बताए ।

उनले देशको आर्थिक स्थिति जर्जर भएको , अर्थमन्त्रालयले ३० प्रतिशत बजेट कटौती गरेको , दैनिक जीवनयापन चलाउन गाह्रो भएकोजस्ता समस्याले अहिले प्रतिकुल र चुनौतीपूर्ण घडी आएकोतर्फ सचेत गराए । झापा क्षेत्र नं २ का निर्वाचित सांसदसमेत रहेका घिमिरेले आफूलाई विकास निर्माणको लागि जनताले भोट दिएकोमा आफू संविधान रक्षा गर्ने भूमिकामा पुगेपनि यस क्षेत्रको जनताको जीवनस्तर कसरी उकास्न सकिन्छ र कायापलट गर्ने आधार कसरी निर्माण गर्न सकिन्छ भनेर गंभीर बनेको धारणा राखे ।

त्यस्तै उपसभामुख मगरले नियुक्तिमा राजनीतिक भागवन्डा उचित नभएको बताइन् । उनले सक्षम व्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । विगत ३३ वर्षदेखि समाजसेवा गर्दै आएकी मगरले सडकमा कराएर नहुने भएपछि आफू राजनीतिको बागडोर सम्हाल्न आएको धारणा राखिन् । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी ,प्रदेश सांसद एकराज कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्वागत मन्तव्य राखेको कार्यक्रममा बिर्तामोड नगरपालिका , पत्रकार महासंघ झापा , अलैची व्यवसायी महासंघले सम्मान गरेका थिए । कार्यक्रमको संचालन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्