झापा, फागुन ४ । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन शुक्रवार सभामुख देवराज घिमिरेले गर्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

बिहीवार अपरान्ह महोत्सवको तयारीका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए । महोत्सव बिर्तामोड नगरपालिका – २ रामचौकस्थित पूर्वपश्चिम राजमार्गको उत्तरमा सञ्चालन हुँदैछ ।

सभामुख घिमिरेसंगै उपसभामुख इन्दिरा राना मगर, झापा क्षेत्र नम्वर २ का सांसद्, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, व्यवसायी तथा स्थानीयको उपस्थितिमा महोत्सव उद्घाटन हुने बताइएको छ । महोत्सव ११ दिनसम्म सञ्चालन हुने छ ।
प्रदेश १ कृषि , पर्यटन एवम् औद्योगिक दृष्टिकोणले समेत सुगमस्थल रहेको र यहाँको उत्पादनलाई भारतलगायतका विभिन्न मुलुकमा निर्यातका लागि पहिचान गराउने उद्देश्यले महोत्सवमा प्रर्दशनी गरिने बताइएको छ ।

महोत्सवमा २०० सय वटा स्टल रहने छन् । महोत्सवमा अन्तर्राष्ट्रिय औद्योगिक उपकरण , कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाक, प्रदर्शनमा रहने बताइएको छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत सहभागिता रहने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए। महोत्सवलाई सभ्य र भब्य बनाउन सबै तयारी पूरा भईसकेको पत्रकार सम्मेलनमा अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
महोत्सवले कृषि र पर्यटनका साथै औद्योगिक क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने र झण्डै ४५ करोड रुपैयाँ बरावरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक न्यौपानेले बताए । उनले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रले आर्थिक क्षेत्रलाई चलायमान बनाउन अहम् भूमिका निर्वाह गर्ने बताए ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीलगायत बिर्तामोडका उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कुशल खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्