झापा , फागुन ६ ।पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र राजसंस्थाबीच सहकार्यमा जोड दिएका छन् ।

७३ औं प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले देश जोगाउन भन्दै सहकार्यको प्रस्ताव गरेका हुन् ।

‘देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन’, पूर्वराजा शाहले भनेका छन् ।
पूर्वराजा शाहले नेपाल एकीकरणको झण्डै २४० वर्षपछि आफूले शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको स्मरण गरेका छन् । विविधतापूर्ण नेपाललाई थप प्रतिनिधिमूलक र समावेशी बनाउने प्रयास स्वागतयोग्य भएपनि कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा देश फसेको उनको दाबी छ ।
जसका कारण युवाहरूमा नैराश्यता उत्पन्न भएको भन्दै शाहले हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरुबाट मुलुकको आगामी दिशाबारे आंकलन गर्न सकिने उल्लेख गरेका छन् ।

राज्यसत्ताको बागडोर जसको हातमा गएपनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले सम्बृद्धिमा कुनै गहन योगदान दिन नसकेको पूर्वराजाको निष्कर्ष छ । ‘देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरु फसेका छन्’, पूर्वराजाले भनेका छन्, ‘तिनका धेरै कार्यकर्ताहरूमा राजनीतिक छत्रछायाँ नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ। प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरुको आन्तरिक सुधार एवं विकल्पको गुन्जायस नदेखेको आभास समाजमा उजागर भएको छ ।’
दलहरूमा नेपालको निम्न एवं मध्यमवर्गको मुद्दामा मौन रहने प्रवृत्ति बढ्दो रहेको पनि पूर्वराजाको भनाइ छ । शासकीय उत्तरदायित्व र गाम्भीर्यको कमी देशभित्रका सवालमा मात्र नभएर परराष्ट्र सम्बन्धमा समेत देखिन थालेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्