एजेन्सी । तेलुगु फिल्म अभिनेता नन्दमुरी तारक रत्नको शनिवार बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको छ ।

गत महिना हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ३९ वर्षीय तारक रत्न प्रख्यात फिल्म अभिनेता जुनियर एनटीआरका काकाका भाई र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एनटी रामा रावका नाति थिए । उनको असामयिक निधनपछि चलचित्र तथा राजनीतिक जगतका धेरैले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । कर्नाटकका स्वास्थ्य मन्त्री तथा भाजपा नेता डा. के सुधाकरले सामाजिक सञ्जाल ट्विटमा उनको आत्माको चीर शान्तिको कामना गरेका छन् । तेलुगु सुपरस्टार महेश बाबुले लेखेका छन्, ‘तारक रत्नको असामयिक निधनले स्तब्ध र गहिरो दुःखी छु । निकै छिटो गयौ भाई… दुःखको यो घडीमा मेरो समवेदना र प्रार्थना उनको परिवार र प्रियजनसँग छ ।’ फिल्म अभिनेता अल्लु अर्जुनले ट्विटरमा लेखेका छन्, ‘तारक रत्न गारु (आदरणीय) को निधनको खबरले मन दुखेको छ । चाँडै गए । उनका परिवार, साथीभाइ र प्रशंसकहरूप्रति मेरो गहिरो समवेदना । उनको आत्माले शान्ति पाओस् ।’ अभिनेता चिरञ्जीवीले ट्विट गर्दै भनेका छन्, ‘तारक रत्नको दुःखद र असामयिक निधनको बारेमा थाहा पाउँदा गहिरो दुःख लाग्यो । यस्तो उज्यालो, प्रतिभाशाली, प्यारा जवान मानिस … धेरै चाँडै गयौ ! सम्पूणर् परिवार र शुभचिन्तकहरूमा हार्दिक समवेदना ! उहाँको आत्माले शान्ति पाओस् !’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्