झापा , फागुन ९ । संखुवासभामा निर्माणाधीन जलविद्युत आयोजनाका लागि १४ हजारभन्दा बढी रुख काटिएको छ ।

निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजना र कोशी करिडोरलगायत विभिन्न आयोजनाका लागि १४ हजारभन्दा बढी रुख काटिएको हो । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजना र २२० मेगावाटको कोशी करिडोर प्रशारण लाइन निर्माणका लागि रूख काटिएका हुन् । अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रशारण लाइनका लागि संखुवासभाका १८ वटा सामुदायिक वनका १४ हजार ६ सय २७ रुख कटान गरिएको डिभिजन वन कार्यालय संखुवासभाका प्रमुख डा.इन्द्र सापकोटाले जानकारी दिए । डिभिजन वन कार्यालय प्रमुख सापकोटाका अनुसार ११ वटा जलविद्युत आयोजनाले जिल्लाका ६ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन् । विद्युत विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका मात्रै ५ हजार ४ सय रूख काटिएका डिभिजन वन कार्यालयले जनाएको छ । विद्युत आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका १४ हजारभन्दा बढी रूख काट्ने निणर्य मन्त्रिपरिषद्ले गरेको थियो।

अरुण तेस्रो आयोजनाका लागि मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा ड्याम साइड र चिचिला गाउँपालिका दिदिङ पुखुवा पावर हाउसमा १२३ दशमलव २२ हेक्टरका रूख काटिसकिएको निर्माण कम्पनी सतलजले जनाएको छ । अरुण तेस्रो परियोजनाले संखुवासभामा रहेको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४ हेक्टर वन प्रयोग गरेको छ । कटान भएका रुखहरु सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताहरुले प्रयोग गर्न पाउने व्यवस्था छ । अरुण तेस्रो आयोजनास्थल ड्याम साइट र विद्युतगृह लगिने ३३ केभी प्रशारण लाइनका लागि थप ९ सय ९४ वटा रुख काटिएको छ । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पीडीए) अनुसार रुखहरु कटान भए पनि बिरुवा अर्को ठाउँमा रोप्नुपर्ने ब्यवस्था छ । प्रशारण लाइन विस्तारका लागि करिब २ किलोमिटर लम्बाइ र ४६ मिटर चौडाइ क्षेत्रका रुख काट्ने सम्झौता भएको थियो । जलविद्युत परियोजनाले चिलाउने , सखुवा, उत्तिस, पात्ले, मलातो, वेपारीलगायतका रुख कटान गर्ने जिल्ला वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्