झापा, फागुन ९ । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हरेक दिन संचालन हुँदै आएको आदिवासी जनजातिको कार्यक्रममा दर्शकको खडेरी लाग्ने गरेको छ ।

बिर्तामोडमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आदिवासी जनजातिहरुलाई हरेक दिन कार्यक्रम गर्न निःशुल्क मंच उपलव्ध गराउने गरेपनि दर्शकको अभावमा उनीहरुका कार्यक्रम खल्लो हुने गरेको छ ।

बेलुकापख आयोजना हुने कन्सर्टमा हजारौं दर्शकको उपस्थिति रहने गरेको महोत्सवमा दिउँसो भने आदिवासी जनजातिको कार्यक्रम हेर्ने दर्शक कोही पनि हुने गरेका छैनन् । आयोजकसमेत मुश्किलले दश–बीस जना जम्मा हुँदा दर्शकको भने खडेरी लाग्ने गरेको छ । हालसम्म मगर , थारु , तामाङ, राजवंशी र नेवारले आ–आफ्नो जातीय पहिचानसहितको सांस्कृतिक कार्यक्रम गरिसकेका छन् ।फागुन ६ गते मगर र थारु , ७ गते तामाङ, ८ गते राजवंशी र ९ गते नेवार समुदायले कार्यक्रम गरेका थिए । कार्यक्रममा जातीय संस्थाहरुलाई सम्मान गरिनुका साथै मन्तव्यसहितको सांस्कृतिक प्रस्तुती रहने गरेको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए । कार्यक्रम आयोजना गर्ने जातीय संस्थाहरुले समेत सहभागिता जुटाउन नसकेको उनले स्वीकारे ।‘ बिर्तामोड उद्योग वाणिज्य संघले निःशुल्क ठाउँ दिइरहँदा त्यसलाई उपयोग गर्न सक्नुपर्छ ’उनले भने,‘आयोजक जातीय संस्थाका प्रतिनिधिहरु आफै मात्र आउँदा उपस्थिति नदेखिएको हो ।’ महोत्सवको उद्घाटनका दिन बिर्तामोडका १० वटा जातीय संस्थाहरुले झाँकी प्रस्तुत गरेका थिए ।

महोत्सवमा व्यवसायिक स्टलका अलावा जातीय संस्कृति झल्कने स्टलहरु समेत राखिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ झापासंगको समन्वयमा महोत्सवमा ती स्टल राखिएका हुन् ।

महोत्सव स्थलमा थारु, राजवंशी, दनुवार, नेवार लगायतका जातिका कलासंस्कृति झल्कने प्रतिकात्मक स्वरुपमा स्टल राखिएको अध्यक्ष चौधरीले बताए ।आयोजकले १० वटा स्टल निःशुल्क उपलव्ध गराएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्