झापा, फागुन १० । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आदिवासी जनजातिका जातीय परिकारले राम्रो बजार पाएको छ ।

महोत्सवमा राजवंशी , थारुलगायतका जातिको जातीय परिकारले राम्रो बजार पाएको हो । राजवंशी समाज विकास समितिको स्टलमा लक्ष्मीपुर बागुवाडाँगीका सकुन्तला राजवंशी , समसरी राजवंशी र रेनुका राजवंशीले भक्का व्यवसाय संचालन गरेका छन् । करिव १० हजार लगानी गरेका उनीहरुले दिनको १० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् । तीनैजनालाई भक्का बिक्री गर्न भ्याइ नभ्याई हुन्छ । ‘दिनभरिमा २० किलो चामलको पिठोको भक्का बिक्री हुन्छ ’सकुन्तला राजवंशीले भनिन्‘भक्काबाट राम्रै आम्दानी भइरहेको छ । ’
त्यसको छेउमा थारु कल्याणकारिणी सभाको स्टल छ । त्यस स्टलमा थारु जातीय परिकारहरु बिक्रीको लागि राखिएको छ । घोङी , भक्का ,बगिया ,मुरैको डल्ला , तिलको लड्डु, अन्डाजस्ता परिकारहरु आफूहरुको स्टलमा राखिएको संचालक घैलाडुब्बाकी शंखावती चौधरीले बताइन् । उनले थारु परिकारहरुको बिक्री राम्रै भइरहेको जानकारी दिइन् । उनीहरुले पनि पसलमा १०हजार नै लगानी गरेका छन् । पहिलो दिन २६ सय र दोस्रो दिन ३ हजार बिक्री भएको बताउँदै चौधरीले दिन प्रतिदिन बिक्री बढ्दै गरेको जानकारी दिइन् ।

महोत्सवमा व्यवसायिक स्टलका अलावा जातीय संस्कृति झल्कने स्टलहरु राखिएका छन् । महोत्सवमा नेपाल आदिवासी जनजाति महासंघ झापासंगको समन्वयमा ती स्टल राखिएका हुन् ।
महोत्सव स्थलमा थारु, राजवंशी, दनुवार, नेवार लगायतका जातिका कलासंस्कृति झल्कने प्रतिकात्मक स्वरुपमा स्टल राखिएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।आयोजकले १० वटा स्टल निःशुल्क उपलव्ध गराएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्