झापा , फागुन १० । यूएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
बुधबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरे । बिदाई कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपालमा सिंगो देशको ध्यान क्रिकेटले तानिरहेको अवस्थामा खेलाडी लगाएत सबैले पनि उतिकै मेहनत गरिरहेको बताए । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने उनको विश्वास छ । त्यस्तै क्यानका अध्यक्ष चन्दले नेपाली राष्ट्रिय टीमले गरेको प्रदर्शनले यू-१९को मनोवल बढेको बताए । उनले दवावरहित तरिकाले प्रदर्शन गर्न आग्रह गरे। प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ ।