झापा, फागुन ११ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम आजेदेखि सुरु हुँदैछ ।

रोग देखापरेकोे ६ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यस वर्ष औषधि खुवाउने कार्यक्रम सञ्चालन हुनेछ । उनले भने, ‘१५ जिल्लाका ८५ लाख जनसंख्यामा हात्तीपाइले रोग समस्याका रुपमा रहेको छ । यस रोगलाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य पूरा गर्नका लागि औषधि सेवन कार्यक्रम प्रभावकारी बनाउन आवश्यक छ ।’

सन् २००३ देखि ६४ जिल्लामा सञ्चालन गरिएको अभियान अहिले १४ जिल्लामा सञ्चालन हुँदै आएको छ । यी जिल्लाका बासिन्दामा हात्तीपाइले रोगविरुद्ध हरेक दुई–दुई वर्षमा रगत परीक्षण गर्दा पनि अपेक्षाकृतरुपमा नघटेकाले अभियान आयोजना गरिएको होे । थप गरिएको एक जिल्ला रसुवामा हात्तीपाइले रोगको संक्रमण देखिएपछि औषधि सेवनको अभियान सञ्चालन हुन लागको छ ।

यसैबीच बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोगविरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा हिजो आयोजित संक्षिप्त कार्यक्रमबीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले औषधी सेवन गरेर नगर स्तरीय औषधी सेवन कार्यक्रमको शुभारम्भ गरिन् ।
कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिनालगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि औषधी सेवन गरे ।

‘बिर्तामोड नगरपालिकाको आव्हान, हात्तीपाईले रोग मुक्त नगर हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आजदेखि १७ गतेसम्म नगरका सबै वडाहरुमा हात्तीपाइले रोगविरुद्वको औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको छ ।

औषधी सेवन शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले हात्तीपाइले रोगविरुद्वको औषधी अनिवार्य सेवन गर्न नगरवासी सबैलाई आग्रह गरिन् । अघिल्ला वर्षहरुमा औषधीको बारेमा गलत हल्ला भएका कारण धेरै सर्वसाधारणले औषधी सेवन नगरेको भन्दै उनले त्यस प्रकारको भ्रममा नपर्न आग्रह गरिन् ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र औषधी सेवन कार्यक्रमका लागि १ सय ५० जनाभन्दा बढी तालिमप्राप्त स्वास्थ्यकर्मीहरु खटाइएको स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिए । उनले पहिलो चरणमा प्रत्येक वडामा रहेका विद्यालय र त्यसपछि गाउँ टोलहरुमा पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले औषधी खुवाउने तयारी रहेको बताए । नगरपालिकाले औषधी सेवन कार्यक्रमका बारेमा विभिन्न प्रचारप्रसार तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको समेत व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्